सञ्चार मानव जीवन कै आधारभूत प्रक्रिया हो । हाम्रै एक दिनको सबै गतिविधिहरु नियालेर हेर्ने हो भने सम्पूर्ण दिन नै आमसञ्चारका माध्यमको उपयोगमा निर्भर रहेको छ- त्यसमा मात्रात्मक घटी-बढी वा प्रयोगका उद्देश्य तथा तरिकाको फरक रहेको किन नहोस् । कसैसँग कुराकानी नगरेको, इमेल, च्याट अनि एसएमएस टेलिभिजन, रेडियो नसुनेको दिन सायदै कसैको होला । हामीले सञ्चार बिना एक पल पनि बिताउन सक्दैनौं । त्यसो त, एक-आपसमा सूचना वा भावनाको आदान-प्रदान गर्ने प्रकृयाको इतिहास आज हामीले देख्ने वा प्रयोग गर्ने गरेका सञ्चारमाध्यम भन्दा निक्कै पुरानो छ । आमसञ्चारका अहिलेका जस्ता विकसित माध्यमहरु उतिबेला नभएतापनि आदिम कालदेखि वा भाषाको आविष्कार हुनुभन्दा पहिलेदेखि मानव कुनै न कुनै रुपको सञ्चारमा अभ्यस्त हुँदै आएको छ । सञ्चार र्सवव्यापी प्रकृया हो, जसको अनुपस्थितिमा जीवित मानवको कल्पना न हिजो कसैले गर्न सक्यो न आज कसैले गर्न सक्छ न कसैले भोली नै । संक्षेपमा, सञ्चार मानव समाजको सबै आर्थिक-सामाजिक, राजनीतिक तथा सांस्कृतिक गतिविधिको जगमा निहीत छ भन्न सकिन्छ । सञ्चारको आधारभूत उद्देश्य प्राचिन मानव सभ्यतामा जे थियो हजारौं वर्षपछि आजपनि उहीनै छ तर सञ्चार प्रक्रिया, प्रयोग तथा प्रयुक्त माध्यममा भने व्यापक परिवर्तन भएका छन् । वास्तवमा आमसञ्चारको विकासक्रमलाई यसको प्राविधिक आधारसँग गाँसेर हेर्नुपर्ने हुन्छ । प्रविधिमा परिवर्तन आउनासाथ त्यसको प्रभाव सञ्चार प्रकृयाका साथसाथै माध्यममा पनि पर्दछ । यसैकारणले मानव समाजका अन्य क्षेत्रमा भइरहने विकास वा परिवर्तन जस्तै सञ्चारमाध्यमहरु समयक्रममा परिवर्तित वा विकसित भइरहेका छन् ।
केही नृशास्त्रीहरुको मतमा हाम्रा पूर्खाहरुले तीन लाख वर्षभन्दा अघिदेखि ध्वनिको प्रयोग गर्न थालेका थिए । मानव समाज श्रुति परम्पराबाट लेखन परम्परामा पदार्पण गर्नमा निक्कै लामो काल-खण्ड व्यतीत भएको नृशास्त्रीहरुको अनुमान रहेको छ । लेखनको विकास हुनुभन्दा धेरै अघि कथ्य भाषाको राम्ररी विकास भइसकेकेा थियो; तर विचारलाई आगामी पुस्ताकालागि संरक्षित गर्ने तथा लामो दूरीसम्म सन्देश सम्प्रेषण गर्ने उपायहरु विकसित हुनचाहिँ बाँकी नै थिए । लेख्य रुप पाउन अगाडी सम्म सबै ज्ञानका शीपका कुराहरु श्रुती स्मृतीमा नै केन्द्रीत थिए । लेख्य भाषाको विकास कहिले भयो भन्ने सम्बन्धमा पूर्वीय तथा पश्चिमा मतमा ऐक्यता छैन; परन्तु लेखनको विकास जहिले भएको भएतापनि त्यसले सञ्चार प्रकृयालाई समय तथा दूरीको अवरोधबाट मुक्त बनायो ।
आफ्नो सन्देश वा सूचना वा भावना कसरी बढीभन्दा बढी समयसम्म सुरक्षित राख्न सकिएला र सकेसम्म बढी मानिसकहाँ कसरी पुर्याउन सकिएला भन्ने सोच आजभन्दा शताब्दीयौं अघिका मानिसमा पनि आजको जस्तै नै थियो । जीवन विताउने क्रममा आएका यस्तै व्यावहारिक समस्या र सोचहरुको समाधान गर्ने क्रममा नै सञ्चारका क्षेत्रमा नयाँ-नयाँ प्रविधिहरुको विकास भएको हो । शताब्दीयौं अघिदेखि मानिसद्वारा 'जीवनको प्रयोगशाला'मा ज्ञानको सृजन कार्य गरिंदैआएको छ र सञ्चारका क्षेत्रमा भएका विकासक्रमलाई पनि त्यस्तै प्रकृयाका रुपमा हेर्नुपर्ने हुन्छ । छापा प्रविधि(प्रिन्टिङ्गप्रेस)को आविष्कारले तत्कालीन मानव समाजको व्यावहारिक समस्या त समाधान गर्यो नै; आमसञ्चारका माध्यमको विकासमा नयाँ ढोका पनि खोल्यो । आधुनिक मेडियाको इतिहास छापा पुस्तक (प्रिन्टेड बुक) सँगै शुरु हुन्छ । आधुनिक अखबारपनि छापा प्रविधिकै देन हो । त्यसपछि टेलग्राफ, टेलिफोन, फोटोग्राफी (स्थिर तथा गतिशील), साउण्ड रेकर्डिङ्ग जस्ता प्रविधिका विकासले रेडियो एवम् टेलिभिजनको विकासका जग खडा गरे ।
सन् १८६० को दशकमै स्कटल्याण्डका एक वैज्ञानिक जेम्स क्लार्क म्याक्सवेलले रेडियो तरङ्गका सम्बन्धमा भविष्यवाणी गरेका भएतापनि तरङ्गहरु अन्तरिक्षमा प्रक्षेप गर्न सकिन्छ भन्ने तथ्यचाहिँ त्यसको दुर्इ दशकपश्चात् जर्मन वैज्ञानिक हेनरिक हर्जले प्रमाणित गरेर देखाएका थिए । सन् १८९५ मा इटालीका वैज्ञानिक गुग्लील्मो मार्कोनीले बेतार संकेत (वायरलेस सिग्नल) केही दूरीसम्म पठाउन सफल भएपछि सञ्चार इतिहासमा रेडियो प्रसारणको नयाँ अध्याय थपिएको हो । यस विधिमा वर्षौ सम्म भएका अनेक प्रयोग, परिक्षण र सुधार ले नै रेडियो सञ्चार प्रविधिको विकास भएको हो । सन् १९१५ मा विस्कोन्सिन विश्वविद्यालय र सन् १९१६ मा पिट्र्स्बर्ग विश्वविद्यालयमा स्थापित भएका रेडियो स्टेसनहरु संसारका सबभन्दा पुराना रेडियो स्टेसनको रुपमा मानिनुमा पनि त्यही अथक प्रयासको महत्वपूर्ण देन छ । तर, रेडियोलाई आमसञ्चारका माध्यमको रुपमा स्वीकार गरिएकोचाहिँ पहिलो विश्वयुद्ध पछिमात्र हो । यसलाई आमसञ्चार माध्यमको रुपमा लिएपछि १९३० को दशकमा रेडियो लोकप्रिय आमसञ्चार माध्यम बनेको थियो ।
नेपालमा जुन समयसम्म एकतन्त्रिय राणा-शासन थियो त्यस समयसम्म यहाँ रेडियो प्रसारण केन्द्रको स्थापना थिएन । नेपालका तत्कालिन प्राइम्मिनिस्टर श्री ३ जुद्ध शम्शेरको शासनकालसम्म राणा-परिवारबाहेक र्सवसाधारण जनताले रेडियो राख्न पाइन्नथ्यो । प्राइम्मिनिस्टर श्री ३ पद्म शम्शेरको शासन-कालमा २००४ सालदेखि र्सवसाधारण नेपालीहरुलाई नेपालभित्र रेडियो ल्याई राख्नपाउने स्वतन्त्रता प्राप्त भयो । त्यस समयदेखि नेपालीहरुको घरमा रेडियो सेटहरु देखिन थाले । र्सवसाधारण नेपालीहरुले नेपालमा नै बसेर विदेशी समाचार समेत सुन्न पाउनथाले । २००७ सालको क्रान्तिको मध्य अवस्थामा एक दिन रेडियोको ४१ मिटरमा अचानक 'यो प्रजातन्त्र नेपाल रेडियो हो, हामी मुक्तिसंग्रामको मोर्चाबाट बोलिरहेका छौं' भन्ने नेपाली लवजमा आवाज सुनियो । यसरी २००७ सालको माघ महिनादेखि नेपालमा नेपाली भाषाबाट रेडियोको प्रसारण-प्रथा शुरु भयो ।
शुरुमा विराटनगरस्थित रघुपति जुट मिलमा यसको स्टेशन स्थापना गरिएको थियो र २००७ साल चैत्र २० गते (२ अप्रिल १९५२) देखि सिंहदरबारको स्कूल-घरमा 'नेपाल रेडियो'को नामबाट यसको स्थापना भयो । यसै दिनदेखि नेपाली भाषामा समाचारको प्रसारण गर्ने कार्य शुरु भयो । यसैसम्बन्धमा, नेपालमा वि.सं. १९८० को दशकतिर रेडियो सेट भित्रिएको तथा पद्मसमशेरको शासनकालमा २००३ साल माघ १४ गते दिउसो एक बजेदेखि १ः३० बजेसम्म त्यतिखेरको बिजुली अड्डा, टुँडिखेलबाट रेडियो प्रसारणको शुरुवात समेत गरिएको थियो । साथै, क्रान्तिको समयमा २००७ मंसीर २९ गते भोजपुरबाट रेडियो प्रसारण भएकेा तथा सोही ट्रान्समिटर विराटनगर लगेर 'प्रजातन्त्र रेडियो'को नाममा प्रसारण गरिएकोपनि कहिँ-कहिँ उल्लेख भएको पनि पाइन्छ ।
त्यसपछिका दिनमा राष्ट्रिय-अन्तर्रार्ट्रिय जीवनमा भएका प्रविधिगत लगायतका अनेक परिवर्तनको प्रभाव नेपाली रेडियो प्रसारणका क्षेत्रमापनि पर्दै आएको छ । त्यस यता नेपालमा रेडियो प्रसारणको स्वरुप, पहुँच, भूमिका, दायित्व तथा कानूनी प्रावधान साथसाथै यसप्रतिको जन-अपेक्षामापनि व्यापक परिवर्तन आएका छन् । प्रजातन्त्र पुनःस्थापना पश्चात्को खुला नीतिको फलस्वरुप नीजि क्षेत्रको सहभागितामा व्यापक वृद्धि भएको छ । अहिलेसम्म नेपालमा १४५ भन्दा बढि एफ.एम. रेडियोहरु दर्ता भइसकेका छन् भने करिब चार दर्जन एफ.एम. प्रशारणमा रहेका छन् । सामुदायिक क्षेत्रबाट पनि अन्य कतिपय यस क्षेत्रमा आउन चाहिरहेका र लागिरहेका छन् । रेडियो प्रसारणको दृष्टिमा दक्षिण एशियामै नेपाल अग्रणी रहेकेा छ भन्दा अत्युक्ति हुनेछैन । रेडियो प्रसारणमा भएको संख्यात्मक वृद्धिसँगै यसको गुणात्मक विकास गर्नेतर्फनि नेपाली सञ्चारकर्मीहरुको ध्यान दिनु अत्यावस्यक भई सकेको छ । वर्तमान समयमा रेडियो प्रशारणमा निक्कै कमजोरीहरु पाइएका छन् । समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरु गुणात्मक बन्न सकिरहेका छैनन् । त्यसो त पत्रकारिता अध्ययन नै नगरेका र आमसञ्चारको बारेमा सामान्य ज्ञानपनि नभएकाहरु चिनजानको भरमा यस क्षेत्रमा लागेकाले पनि नेपालमा रेडियो पत्रकारिताले राम्रो बाटो लाग्न पाएको छैन ।
रेडियो नेपालमा अझै पनि पजनी प्रथा कायम नै रहेको छ । यसमा कार्यरत पत्रकारहरु मन्त्रीमण्डल सँगै नै बदलिरहने क्रम लोकतन्त्रको प्राप्ति पछि पनि रोकिएको छैन । जसले गर्दा सरकारी माध्यममा व्यावसाहिकता देखिएको छैन । नीजि क्षेत्रका सामुदायिक रेडियो स्टेशनहरु विदेशी दाता फकाउने क्रममा लागेका देखिन्छन् । त्यसो त विभिन्न इन्ट्रेस्ट ग्रुपबाट सञ्चालिन एफएमहरु जता मल्खु त्यतै ढल्कुको नीति अँगालेका हुनाले सही पत्रकारिता गर्नमा चुकिरहेका छन् । सानो क्षेत्रमा प्रशारण गर्ने मान्यता रहेको एफएमको मुलुकभर नै रिपिटर स्टेशन राखेर र विभिन्न स्थानमा एउटै नामको लाइसेन्स लिएर सञ्चालन गरि केन्द्रीय बन्न पुगेका रेडियोहरुको जमातले गर्दा नेपाली रेडियो पत्रकारितामा टाइकुन पत्रकारिताको थालनी भएको छ । जसले गर्दा समाचारको आधारमा अनुचित लाभ लिनेकाममा केही रेडियो स्टेशन लागेका छन् । केही खलपात्रहरुले गर्दा नेपाली रेडियो पत्रकारिताको अभ्यासमा नै कालो धब्बा लागको छ । त्यसैले प्रसारणका अनेक पक्षहरुबारेमा अध्ययन, अनुसन्धान गरिनु आवश्यक भएको छ । हुन त, नेपालमा मिडियालाई पृथक् विधा तथा उद्योग (इन्डस्ट्री) को रुपमा लिइन थालेको धेरै भएको छैन । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र यो क्रम शुरु भएको हो । त्यसपछिका दिनमा यसतर्फउल्लेख्य प्रगति भइरहेका थिए माओवादी बिद्रोह दबाउने क्रममा संकटकाल लगाएको अवस्थामा सञ्चारकर्मीले केही समस्या भोग्नुपरेपनि रेडियो प्रशारणमा खासै अवरोधको सामना गर्नुपरेन । तर, केही अवस्थामा दुर्व्यवहार भने खप्नु पर्यो । राजनीतिक अस्थिरता र गुटउपगुटको राजनीतिको फाइदा लिँदै राजाबाट असोज १८ र माघ १९ मा संवैधानिक दायरा मिच्ने क्रम सुरु भएपछि भने नेपाली रेडियो पत्रकारिताले निक्कै क्रुर व्यवहार खप्नु पर्यो । सैनिक आदेशमा रेडियोबाट समाचार प्रशारणमा रोक लाग्यो । जसले गर्दा सम्पूर्ण रेडियोकर्मीहरु सडकमा आउन बाध्य भए । अदालतको आदेशमा समाचार प्रशारण सुचारु भएपछि भने रेडियो पत्रकारिताले नयाँ आयाम पाएको छ तर, शैक्षिक तथा अनुसन्धानात्मक कार्यमा सम्बद्ध पक्षहरु सचेत नहुँदा न त रेडियोका समाचार कार्यक्रम राम्रा बन्न सकेका छन् न त कुनै अन्य कार्यक्रम नै । हुन त नेपाली आमसञ्चार क्षेत्र अझैपनि यसको विकासको प्रारम्भिक चरणमा छ । दक्ष सञ्चारकर्मी तथा अनुसन्धानकर्ताहरुको अभाव अझै पनि खडिकरहेको छ ।
madanm05@gmail.com // +977-9841541911
Wednesday, May 2, 2007
नेपालमा रेडियो पत्रकारिता
Subscribe to:
Post Comments (Atom)
0 टिप्पणियाँ:
Post a Comment