Wednesday, May 2, 2007

गोर्खापत्रको समाचार श्रोत

नेपाली पत्रकारिताको इतिहासमा 'गोर्खापत्र' को महत्व आफैमा अद्वितीय रहेको छ । नेपालबाट प्रकाशित 'सुधासागर' पछिको पत्रिका हो 'गोर्खापत्र' । नेपाली पत्रकारिताका अन्वेषक ग्रीमबहादुर देवकोटा भन्दछन्- पत्रिकाको लहरमा 'माहिलो' भएतापनि अखबार (समाचारपत्र) का रुपमाचाहिं यो 'जेठो' पत्रिका हो । हालसम्म बाँचिरहेका पत्रिकाहरूमा सबैभन्दा पाको पत्रिका पनि यही नै हो । तर गोर्खापत्रको महत्व यसको प्राचीनताका कारणले मात्र भएको होइन, बरु यसले पुर्‍याएका अनेक आयामी योगदानहरूले यसको महत्व बढाएका हुन् ।

दक्षिण एशियाली भेगबाट निक्लने आधा दर्जन मात्र पत्रिकाको इतिहास एक शताब्दी लामो छ र तीमध्ये हाम्रो गोर्खापत्र पनि एक हो भन्न पाउँदा हामी नेपालीलाई अत्यन्त गौरवको अनुभूति हुन्छ । प्राप्त ऐतिहासिक तथ्यहरूका अनुसार, वि.सं. १९५८ बैशाख वदी ११ रोज २ का दिनमा सनद जारी भई सोही सालको जेष्ठ वदी ३ रोज २ (सौर पात्रो अनुसार भन्नुपर्दा बैशाख २४ गते सोमवार) तदनुसार सन् १९०१ मे ६ तारिखका दिनमा गोर्खापत्रको पहिलो अंक प्रकाशन भएको थियो । यद्यपि नेपालमा पत्रिका दर्ताको प्रावधान यसभन्दा निक्कैपछिमात्र शुरु भएकाले दर्ता नं. एक पाउने सौभाग्य भने नेपालबाट प्रकाशित 'साहिंलो' पत्रिका शारदा मासिक (वि.सं. १९९१ फागुनमा प्रकाशित) ले प्राप्त गर्‍यो । गोरखापत्रको दर्ता नं. दुर्इ रहेको देखिन्छ । तत्कालीन श्री ३ महाराज देवसमशेरको सुधारवादी कदमको फलस्वरूप जन्मेको गोर्खापत्र, नेपाली सञ्चारविद् ग्रीष्मबहादुर देवकोटाको शब्दमा जन्मँदा माहिलो भई जन्मेपनि आफ्ना भाग्यले जेठो भई जीवित रहेको छ ।

गोर्खापत्र प्रकाशनारम्भ भएको तत्कालीन अवस्थालाई विचार गर्दा नेपाल विश्व समुदायबाट अलग्गिएको थियो । जनतामा साक्षरता, शिक्षा एवम् राजनीतिक चेतनाको स्तर निक्कै न्यून रहेको थियो । त्यसमाथि निरंकुश तानाशाही राणातन्त्रको जहानिया शासनका कारण जनता देश-देशावरका हालखबर सम्बन्धमा चर्चा गर्नसमेत तर्सिनुपर्ने परिस्थिति थियो । प्रविधिगत हिसाबले हेर्ने हो भने, गोर्खापत्रको पहिलो सनदमा उल्लेख भएअनुसार, आकाशमा उड्ने र पानीमा तैरिने (हवाइजहाज र पानीजहाज) सम्बन्धी चर्चालाई त "अनोठा अनोठा कुरा" ठानिने बेला थियो त्यो ! त्यस्तो परिस्थितिमा पत्रिका प्रकाशन गर्नुपर्दाका चुनौती पनि अनौठा-अनौठा नै थिए होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

गोर्खापत्रलाई एकातिर पाठक तथा ग्राहक पाउनै गाह्रो थियो र अर्कोतिर के के छाप्ने र के के नछाप्ने भन्ने पहिल्यै तोकिएको हुँदा सीमाङ्कनका कारण सम्पादकका हात बाँधिएका थिए भन्ने पनि स्पष्टै छ । सम्पादकीय स्वतन्त्रताको अवधारणाको अत्तो-पत्तो समेत शायद त्यतिखेर नहुँदो हो । अहिले आफूलाई व्यावसायिक र निष्पक्ष भन्ने दाबी गर्ने अखबारमा सम्पादकले प्रकाशकको मुख ताक्नु पर्ने बाध्यता छ भने सय वर्षअगाडी सम्पादकीय स्वतन्त्रता नहुनुलाई आर्श्चर्यको कुरा ठान्नु कसरी ! 'गोर्खापत्र' निक्लन त निक्ल्यो; तर न छपाइ प्रविधि विकसित थियो, न त दक्ष जनशक्ति नै थिए । अनि हरहमेशा राणातन्त्रको शासकीय वक्रदृष्टि त छँदै नै थियो । यति हुँदाहुँदै पनि पत्रिका चाहिं जसरी पनि निकाल्नु नै थियो । पत्रिका ननिकाल्दा हुने लाज-गालबाट बच्नकै लागि भएपनि अरु त के चन्द्रसमशेर तथा भीमसमशेरले समेत गोरखापत्रको घाँटी निमोठ्न सकेनन् । अनि, पत्रिका निकाल्ने भनेपछि पाना त भर्नै पर्‍यो । बस्, गाँठी कुरो यहींनेर छ । पत्रिका निकाल्नु पनि पर्ने; तर समाचारका पर्याप्त श्रोत नहुनाले सम्पादकहरूलाई निक्कै गाह्रो परेको बुझिन्छ । नत्र, वि.सं. २००२ सालमा समेत सम्पादकीयमै गोर्खापत्रले "समाचार भएको भए त दिनदिनै निकाल्न सकिन्थ्यो, तर ....." भनेर आफ्नो विवशता प्रदर्शन गर्नुपर्ने खण्ड किन पर्दो हो र ! झन् वि.सं. १९५८ सालतिर गोर्खापत्रका आरम्भिक दिनमा स्थिति कस्तो हुँदो हो !
गोर्खापत्रले आफ्ना प्रारम्भिक दिनहरूमा भोग्नुपरेका विविध समस्याहरूमध्ये समाचार-श्रोतको समस्या पनि चर्कै थियो । विद्वान अन्वेषक शिव रेग्मीका अनुसार त, वि.सं. २००७ अघिको गोर्खापत्रमा राणाजीहरू तराइ झरेका र काठमाण्डौं फिर्ती सवारी भएका, पानी नपरेर खडेरी लागेका, गोरु भीरबाट खसेर खुत्रुक्कै भएका, अनि तत्कालीन श्री ३ का प्रशस्तिगान भरिएका हुन्थे; यद्यपि नेपाली भाषा-वाङ्मयको श्रीवृद्धि गर्ने गतिला साहित्यिक रचनाहरुपनि त्यहाँ समेटिएका थिए । अनि, भारतीय समाचारमा छापिएका, तर पुराना भइसकेका अन्तर्राष्ट्रिय
समाचार पनि समावेश गरिन्थे । समाचारका प्रकृति यस्तो हुनुमा श्रोतको कमी नै मुख्य कारकतत्वका रूपमा रहेको थियो ।

हुन त गोर्खापत्रलाई समाचारको कमी नहोस् भनेर विभिन्न समाचार श्रोतहरु खुट्ट्याउने प्रयास नगरिएकोचाहिं होइन । ऐतिहासिक तथ्यहरूका अध्ययनबाट देखिन्छ कि तत्कालीन सरकारले गोर्खापत्रलाई समाचार जुटाउने प्रयत्न सरकारी तहमा एवम् औपचारिक तवरले नै गरेको थियो । सनदमा "दुनियांलाइ हुन्या इस्तीहार नटासिने कुरा र नयां जारी भयाको ऐनको कुरा, कलकत्ताको र यहांको दरभाउ । जंगी निजामतिले असल तरकी गरेकोमा उनको पर्खावली देखीको वयान ...। हामी (श्री ३)बाट र मुखत्यारले दुनियालाइ इसपीच दिएको । अनोठा अनोठा कुरा अर्थात आकासमा उडेर जाने समुद्र भित्र जाहाज लगेको देषका दायामा आयाको र याहां भयको कुरा । अदालत विषयमा अन्याय भयाको प्रमाण पुग्याको दोभिता भयाको अड्डाखानाका हाकिम अड्डामा नबसी फोहर गरेकोमा गरेको पक्का गरी छापनु ।
...... कसुर भै हाकिमहरु अदली वदली भयाको कुरा पनि छापी दिनु । पहाड मदेशमा जुलुम भयाको .... । खेती पाति विषयर् इलम विषय धर्म विषय उन्नतिको असल-असल कामको कीतापको उलथा गरी छापनु । श्री ५ को सरकारको ठुलो-ठुलो उत्सवको कुरा छापनु हुन्छ सोर्गेवासी श्री ३ महाराजको तारीफ छापनु हुन्छ । वावुले कमायाको धन जुवा रंडीवाज वदनियत गरी खर्च गर्नेको दिड पनि छापी दिनु । सीकारका विषय हाम्रा गोर्खालीले फलानाले खुकुरीले चीतुवा भालु लाई हाने मारे भने इत्यादि वाहादुरी गरेको छापनु हुन्छ । ग्याजेट प्रोग्राम पनि छापनु । वैंकटेश्वर बंगवासी छापाको असल-असल कुरा उलथा गरी छापी दिनु । दुनियांको वदचलन फतुरा खर्चबाट दिल हटाउने राय छापनु हुन्छ । डाक्टरहरुले यसलाई आराम गर्दा यति खिल्लत पाया भन्या ।" आदि लेखिएबाट समाचार श्रोतको अनुमान लगाउन सकिन्छ । यसरी अत्यन्तै प्रारम्भिक अवस्थामा गोर्खापत्रका समाचार श्रोतका रुपमा सरकारी इस्तिहार, अड्डा अदालतका गतिविधि तथा विदेशी पत्रिकामा प्रकाशित सामग्री रहेका देखिन्छन् । उदाहरणार्थ, वि.सं. १९५८ मै सरकारले एक इस्तिहार जारी गरी काठमाण्डौंका प्रत्येक अड्डा-अदालतलाई आ-आफ्ना गतिविधि, हालचाल लेखी गोर्खापत्र अड्डालाई उपलब्ध गराउन निर्देशन दिइएको देखिन्छ ।

त्यसबाहेक काठमाण्डौंबाट विभिन्न स्थानमा रहेका गढी, गोस्वारा, गौंडा, अड्डा आदिलाई पत्र लेखी त्यस भेगका हालखबर पठाइदिन भनिएको देखिन्छ । वि.सं. १९६० को दशकमा लेखिएका त्यस्ता अनेक पत्रहरुमध्ये तातोपानी अड्डालाई लेखिएको पत्र एक उदाहरणका रुपमा लिन सकिन्छ । त्यस पत्रमा विविध प्रश्नहरु गर्दै ती क्षेत्रका समाचार बुझी लेखिपठाउन भनिएको छ । जस्तै- बालीनालीको मेलो के छ - बन्दव्यापार के कसो छ - जात्रा उत्सव के कसरी मनाइन्छ - पानी नपरी खडेरी लागेकेा छ कि - कुनै रोगव्याध फैलेकेा छ कि - कसैले बहादुरीपूर्ण काम गर्‍यो कि - इत्यादि । साथै, पहाड गाउँतिरबाट पशुपतिनाथको दर्शन गर्न काठमाण्डौं आइपुग्ने जनसामान्यलाई खोर्‍याई-खोर्‍याई पनि कतिपय समाचार (गाउँतिरका घटनासम्बन्धी) छापिन्थ्यो भन्ने तथ्य बालमुकुन्ददेव पाण्डेले उल्लेख गर्नुभएको पाइन्छ । यसरी पशुपतिनाथको दर्शन गर्न आउने गाउँलेहरूलाई पनि समाचारश्रोतका रूपमा उपयोग गरिएको तथ्य देखापर्छ ।

समयक्रमसँगै गोर्खापत्रका समाचारश्रोत पनि बदलिएको बताइन्छ । वि.सं. १९८० को दशकमा नेपालमा रेडियो भित्रिएपछि विदेशी रेडियो प्रसारणलाई समेत समाचार श्रोत बनाइएको थियो । अर्थात्, रेडियो सुनेर सो समाचारलाई नेपालीमा उल्था गरी गोर्खापत्रलाई उपलब्ध गराइन्थ्यो भन्ने अन्वेषकहरूको भनाइ छ । इन्जिनियर काशीनाथ पाण्डेले रेडियो सुनी समाचार टिप्ने र नेपालीमा उल्था गरी एक प्रति श्री ३ कहाँ र एक प्रति गोर्खापत्रलाई दिने गर्दथे भनिन्छ । गोर्खापत्रले धेरै पछिसम्म पनि आफ्ना समाचारदाताहरू नियुक्त गरेको थिएन । वि.सं. २००० सालतिर मात्र केही 'सिटी रिपोर्टर'हरू रहेका बताइन्छ ।

हुन त, पत्रिकाको सम्पादकको नाम त वि.सं. १९९१ मा आएरमात्र उल्लेख गरिएको पक्षलाई हेर्दाखेरिमा त्यतिखेर गोर्खापत्रले तलबी, व्यावसायिक समाचारदाता नराख्नुलाई के अनौठो मान्नु र ! तर समयक्रममा आएको फेरबदलसँगै गोर्खापत्र पनि विकसित, परिमार्जित हुँदै आएको छ । पछिल्ला दिनहरूमा गोर्खापत्रका समाचारश्रोतमा विविधता आएका र आधुनिक प्रविधिको उपयोगले यसको पहुँच व्यापक भएको तथ्य उल्लेख्य छ । तर अझैसम्म पनि देशका सबै ठाउँमा यसका सम्वाददाता राख्न सकेको स्थिति आएको छैन । जिल्लाका सदरमुकाम जति धेरैजसोमा चाहिं राख्न खोजे जस्तो देखिन्छ । तर त्यस्ता सम्वाददाताहरूको नियुक्ति पारदर्शी प्रक्रियाबाट नहुनु, र तिनीहरूका जागिरको सुरक्षाको चासो कसैले नलिनुले गर्दा कामको गुणस्तरीयता छैन भन्ने गुनासो आइरहेको छ । काठमाण्डौंमा गोर्खापत्रको कार्यालयमै बसेर काम गर्नेहरूमा पनि फगत् जागिर पकाउने र पचाउने प्रवृत्ति देखिएको, गोर्खापत्रमा कार्यरत पत्रकारहरू सिर्जनशीलता, रचनात्मकता, खोज जस्ता पक्षमा साह्रै कमजोर देखिएका, गोर्खापत्रको समाचार अन्यत्र जासूसी गरेर दलाली खाने गरेको, आदि-इत्यादि गुनासा तथा आरोप पनि छँदैछन् ।

अन्त्यमा गोर्खापत्रको वर्तमान अवस्था बारेमा केही कुरा गरौं । अचेल गोर्खापत्रको विज्ञापन गर्दा भनिने गरेझैं नै यो नेपालको सम्पदा हो । यस सम्पदालाई जति विवेकपूर्वक हामीले जोगाउनु र सञ्चालन गर्नुपर्ने हो, त्यो हुन सकेको छ त - हिजो राणाहरू तथा पञ्चहरूले आफ्नो डम्फूका रुपमा प्रयोग गरेभने बहुदल आएपछि पनि गोर्खापत्रलाई दलदलबाट उकास्ने मति कसैको आएन । अहिले पनि कुन बेला सरकार फेरिने हो, अनि कसले गोर्खापत्रमाथि कब्जा जमाउने हो भन्ने परिस्थिति कायमै छ । सम्पदाको इज्जत राखेको यस्तै हो त - जहिल्यै अर्काको धूनमा नाच्नुपर्ने परिस्थितिमा राख्नु हुँदैन गोर्खापत्रलाई । साथै, यसलाई नीजिकरण गरेर व्यापारीका हातमा बेच्ने कुरा पनि अस्वीकार्य छ । प्रकाशनगृह चलाएर बसेका केही 'मिडिया टाइकून'हरूको माखेसाङ्लो र भित्रै बसेर गद्दारी गर्ने बद्मासहरूले गोर्खापत्रलाई सिध्याउने हरसम्भव प्रयत्न अहिले पनि गरिरहेकै छन् । भ्रष्टाचारीहरूका कारणले गोर्खापत्र धमिराले खाएको काठ झैं भित्र-भित्रै क्षतविक्षत भएको चर्चा पनि सुनिएकै छ । तर, यी सबको उपचारका रुपमा नीजिकरण गर्नु, यानेकि धनीहरूका हातमा बेच्नु, अर्को भूल हुनेछ । निश्चयनै, सहकारीकरण गर्न भने हिच्किचाउनु हुँदैन । गोर्खापत्रको जरुरत ती जनतालाई छ, जो कमजोर छन्, विपन्न छन्, सूचनाको पहुँचबाट अझै टाढा छन्, र राज्यको मूलप्रवाहमा आउन पाउनु उनीहरूको हक हो ।

देवसमशेरले बरु सनदमा "हाम्रा प्रशंसाका कुरा नछाप्नू" भन्ने उदारता देखाएका थिए । कोही पनि त्यति उदार निक्लेनन् तत्पश्चात् । अहिलेसम्मै गोर्खापत्रलाई सत्ताधारीहरूले प्रयोग गरे, त्यो पनि मनपर्दी स्वेच्छाचारी पाराले । दोष गोर्खापत्रको होइन । गोर्खापत्रलाई अवमूल्यन गर्न खोज्नु अपराध हो । यो त साधन हो र यसलाई कसरी प्रयोग गर्ने भन्ने चाहिं प्रयोगकर्तामा निर्भर रहन्छ । यसले जुन नयाँ युगको रेखांकनमा योगदान पुर्‍याएको थियो, त्यसलाई समेत दृष्टिगत गर्दै यसको दीर्घ-जीवनकालागि गुरुयोजना बनाउन अब अबेर भइसक्न लागेको छ । देवसमशेरको सनदले जन्म्यो यो पत्रिका, तर अब जनताको आफ्नो पत्रिका बनेर बाँच्न पाउनु पर्छ यसले ।

गोरखापत्रलाई समाचारको भरपर्दो सम्वाहक बनाउन तत्कालीन देश-काल-परिस्थिति अनुरुप समाचार श्रोतहरू जसरी पहिचान गरेको देखिन्छ, त्यो प्रशंसनीय छ । समग्र नेपाललाई हेर्न खोजेको रहेछ गोरखापत्रले । अनौठा कुरा यो छ कि गोरखापत्रका समाचारश्रोत सम्बन्धमा त्यो प्रारम्भिक अवस्थामा जति व्यापक दृष्टि देखाउन सकेको थियो, अहिले सूचनाप्रविधिको विकास भइसक्दाको यो बखतमा अपेक्षित प्रगति भएको रहेनछ ।

madanm05@gmail.com

0 टिप्पणियाँ: