समाजलाई विकास र उन्नतीको पथमा अग्रसर गराउन महत्वपूर्ण रहेको पुस्तकको लागि वर्षा एक दिन छुट्टयाइएको छ । त्यो दिन हो २३ अप्रिल । हिन्दूहरुले वसन्त पञ्चमीलाई अक्षरारम्भ गर्ने र अध्ययनमा लाग्ने दिनको रुपमा लिए जस्तै हो पुस्तक दिवस पनि । फरह यति हो की वसन्त पञ्चमी भारतवर्षा मात्र सिमीत छ र पुस्तक दिवस विश्वव्यापी । भारतवर्षमा वसन्तपञ्चमीको जति महत्व दिइएको छ त्यस्तै महत्व पुस्तक दिवसको छ । पुस्तक दिवसलाई पुस्तक लेखनको इतिहासको संस्मरण गर्ने वा पुस्तकको बारेमा चर्चा गर्ने दिनका रुपमा भन्दा पनि अज्ञान बाट ज्ञान तर्फबढ्ने दिनको रुपमा लिइनु पर्दछ । नेपालसँग पुस्तक लेखनको विकास र अभ्यासको लामो इतिहास रहेको छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ 'वेद'को लेखन कृष्ण द्वैपायन -व्यास)ले नेपालमा गरेको तथ्यले नेपालमा पुस्तक साथै अध्ययन/लेखनको प्राचिन परम्परा रहेको देखाउँछ । हुनत भारतवर्षा नेपाल लगायतका विभिन्न मुलुकहरु प्राचिनकाल देखि नै अध्ययन अनुसन्धान साथै अक्षर विज्ञानको क्षेत्रमा आदी काल देखी नै सम्वृद्ध थिए । अहिले अध्ययन एवं लेखन/अनुसन्धानको हाम्रो पर्ूर्विय मान्यता आधुनिकीकरण सँगै कमजोर हुँदै गएको देखिन्छ । हामी सँग पुस्तक लेखनको लामो र प्राचिन इतिहास त छ तर पढ्ने संस्कार भने छैन ।
वितेको दशकमा मुलुकले राजनीतिक रुपमा निक्कै लामो फड्को मारेको छ तर शिक्षाको क्षेत्रमा शताब्दी देखि नै फड्कोको त कुरै छैन एउटा सानो पाइलो पनि सरेको छैन । प्रजातान्त्रिक व्यवस्थाले अधिकार दिए पनि संस्कार दिन नसकेको मान्नु पर्दछ अध्ययन र साक्षरताको कोणबाट हेर्दा । राजनीतिक व्यवस्थामा आएको परिवर्तनले शासनमा मात्र होइन मानिसको सोच र व्यवहारमा पनि फरकपन आएको छ । वैयक्तिक स्वतन्त्रताले गर्दा मकैको खेती लेख्दा रामलाल अधिकारीले शासकबाट पाएको जस्तो क्रुर यातना त कसैले कुनै लेखकले खेप्नु परेकेा छैन तर प्रकाशित पुस्तकको अध्ययन गर्ने पाठक नहुनु स्वयंमा एउटा यातना बन्न पुगेको छ । विडम्बना नै भन्नु पर्दछ पढ्ने इच्छा र रहर भएका मानिसहरुको पालामा पठन-पाठन गर्न छुट दिने व्यवस्था भएन जब अध्ययनको लागि सहज वातावरण बनाउँदै प्रजातान्त्रिक स्वतन्त्रता आयो तब पढ्ने इच्छा भएन । पहिले पढ्न खोज्दा पुस्तक भएन अहिले पुस्तक हुँदा पढ्ने भएनन् ।
राणाकालको समयमा नौ प्रतिशत पनि थिएन नेपालको साक्षरता तर पनि त्यस समयमा पुस्तक पढ्ने र विभिन्न साहित्यिक ग्रन्थहरुको लेखन बढि मात्रामा भएको थियो । पुस्तक पढ्ने मानिसहरुको खाँचो थिएन तर तानाशाही व्यवस्थाले गर्दा पुस्तकको भने अभाव थियो । लक्ष्मीप्रसाद देवकोटाको पुस्तकालय खोल्ने र मानिसहरुलाई पुस्तक पढाउने अभियान राणा शासकको आँखामा तारो बन्यो । सय सय जरिवाना तिर्नुपर्यो पुस्तकालय अभियानमा लाग्नेहरुले । अहिले पुस्तकहरु दैनिक रुपमा निस्किरहेका छन् पुस्तकालयहरु पाठकको प्रतिक्षामा छन् तर पाठकहरु भने सिनेमाहलको कुनोमा पुगेका छन् । हिजो २००७ मा ११ प्रतिशतको हाराहारीमा देशको साक्षरता हुँदा एक हजार प्रति पुस्तक छापिने गरेकोमा आज साक्षरता प्रतिशतले ४७ नाघ्दा पनि पुस्तक प्रकाशनको सँख्या एक हजारमा नै सिमीत छ । मानौं कि पुस्तक प्रकाशन सँख्यामा त्यो लक्ष्मण रेखा हो त्यसलाई नाघ्नु हुँदैन । साक्षरहरुको सँख्या बढिरहँदा पनि पुस्तक प्रकाशनको क्रम नबढ्नुले पुस्तक अध्ययनको परम्परा र संस्कारको अवमुल्यन देखाउँदछ । हिजोको दिनमा सबैभन्दा बढि प्रकाशन भएको र बढि मानिसहरुले रुचाएको मुना-मदनको विक्रीलाई चुनौति दिन सक्ने कुनै पनि पुस्तक बजारमा आएको छैन । अहिलेका युवाहरुमा पढ्ने भन्ने त बानी नै छैन जुन पुस्ताले पाठ्यपुस्तकको सट्टामा गेस पेपर पढेर जाँच दिन्छ त्यसले बाहिरी पुस्तक कहाँ पढ्ने ! बुबाले किनिदिएको पुस्तक बेचेर सिनेमा जाने त अहिलेको फेसन नै भएको छ ।
पुस्तक भन्नासाथ औपचारिक शैक्षिक प्रयोजनका लागि तयार पारिएको पाठ्य सामग्री हो भन्ने मनोभावना हामीमा छ । तर पुस्तक मनोरञ्जनको साधन पनि बन्न सक्छ भन्ने हामी मध्ये सायदैलाई लाग्न सक्छ । आजको जस्तो टेलिभिजन, रेडियो अनि चलचित्रको विकास र विस्तार नहुँदा सम्म पुस्तक अध्ययन एकमात्र मनोरञ्जनका साधन थिए । पुस्तक पढेर बस्नु भनेको ठूला मानिसहरुको शोख र मनोरञ्जनको मात्र होइन शान र गौरवको पनि कुरा हुन्थ्यो । पुस्तक पढेर आनन्द लिनुलाई अति नै उच्च खालको मनोरञ्जन मानिन्थ्यो । शानका साथ घरमा पुस्तक सजाउँथे मानिसहरु अहिले टेलिभिजन, डिभिडी, भिसिडी, होम थिएटर, कम्प्युटर अनि बाघ भालु जस्ता जनावरका छाला र टाउको राखे जसरी । साक्षर र पढेका मानिस कम थिए त्यतिखेर त्यसैले मानिसहरुलाई पुस्तक भनेको शिक्षा अनि ज्ञान भनेको ठूलो कुरा हो जसरी पनि यसको जगर्ना गर्नुपर्दछ भन्ने सोच आयो । पुस्तक, लेखक अनि पाठकको सम्मान हुन थाल्यो । पढ्ने संस्कार अनि नै उच्च संस्कारको रुपमा लिइन थालियो । त्यसैले त समकालिन समयको पुस्तक प्रतिको महत्वलाई दर्शाउँदै थोरोले भने पुरानो कोट लगाऊ र नयाँ पुस्तक किन ।
विज्ञान र प्रविधिको विकासले ज्ञान र मनोरञ्जनका क्षेत्रमा पुस्तकको एकाधिकारलाई तोडेको छ । ज्ञान र मनोरञ्जनको लागि पुस्तक चाहिँदैन, घण्टौं एउटै पेजमा घोरिइरहनु पर्दैन अनेक साधन छन् त्यसका लागि त्यसैले त घरमा पुस्तकको र्याकको स्थान टिभी र होम थिएटरले लिएका छन् । मुना-मदन, नलदमयन्ती, रुपमती, मुकुन्द इन्दीराको समय कसौटी र कुमकुम अनि कहानी घरघरकीले लिएका छन् । हिजो ज्ञानको स्रोतका रुपमा पुस्तकको एकाधिकार थियो भने आज रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट ज्ञान र मनोरञ्जनको क्षेत्रमा टाइकुन बनेका छन् । मानिसहरुको ध्यान पुस्तक छाडेर अन्यमा लागेको छ जसले पुस्तक पढ्नेको सँख्या निरन्तर घटिरहेको छ । पुस्तकको अध्ययन भनेको केबल छापिएका अक्षरहरुको अध्ययन होइन समकालिन समाजको अध्ययन हो । पुस्तक समाजलाई नजिकबाट नियाल्ने वस्तु मात्र नभएर समाज परिवर्तनको आधारपनि हो त्यसैले त तानाशाहहरु पुस्तकको प्रकाशनमा छेकबार लगाउँछन् । तसलिना नसरिनको पुस्तकले कति हलचल ल्यायो मुसल्मान समाजमा । आमसञ्चारको पहिलो र पुरानो माध्यम पुस्तक प्रविधि र विकासको कारण अहिले मारमा परेको जस्तो देखिएको छ विश्वव्यापी रुपमा नै त्यसैले त पुस्तकहरु पनि अनलाइनमा उपलब्ध छन् । त्यतिमात्र कहाँ हो र - चिनमा पुस्तक पढनेहरुको सँख्या नघटोस् र मानिसहरुको पुस्तक पढ्ने बानि नछुटोस् भनेर कतिपय साहित्यिक तथा प्राज्ञिक पुस्तकहरु अहिले त मोबाइलमा समेत पुस्तक पढ्न पाइन्छ अनि साथिलाई एसएमएस मार्फ पठाउन पनि ।
पुस्तक र पुस्तकालयहरु पाठक नपाए पछि सरदर एक हजार प्रतिमात्र छापिने पुस्तकहरु पनि बिक्री नभएर साझा तथा प्रज्ञा प्रतिष्ठानका भण्डारमा थुप्रिने गरेका छन् । प्राज्ञिक तथा साहित्यिक पुस्तक तथा पत्रिका, जर्नलहरु पढ्नेहरु नभइरहेको समयमा राजनीतिक थाङ्ने पत्रिका र फुटपाथमा बिक्रीका लागि राखिने यौन सम्बन्धी उपन्यासहरुले भने पाठक नचाइरहेका छन् । साझा तथा प्रज्ञा प्रष्ठिानले गर्ने पुस्तक बिक्रि तथा प्रदर्शनीहरुमा बृद्ध र पाको मानिस बाहेक युवाहरु देख्न नसकिने स्थिती छ । माया, प्रेम र यौन भन्दा बाहिरका प्राज्ञिक, सामाजिक, साहित्यिक लेखनले पाठक नपाउने अवस्थाले गर्दा त्यस्ता गतिविधिमा पनि विस्तारै अल्पविरामहरु लाग्दै गइरहेका छन् । समाजमा शिक्षा भन्दा पनि ठूलो राजनीति बनेको र राजनीतिकर्मी हुनको लागि अध्ययन अनि ज्ञान नै आवश्यक नहुने भएपछि स्तरिय लेखन तथा पुस्तकले धमिराको आहारा बन्नुपर्ने बिडम्बना अझ बढ्दो क्रममा छ । साक्षर जनसंख्या नै कम भएकाले मात्र होइन स्तरिय लेखन नभएको कारण पनि पुस्तक बिक्री र अध्ययन नभएकेा मानिन्छ जसको पुस्टिका लागि मुनामदन लाई अगाडी सार्ने गरेको पनि छ । अहिले आर्थिक हैसियत हुनेहरुले पद, शक्ति अनि सस्तो उत्तेजनाको आडमा कुत्सित मनोगत धारणाहरुलाई पुस्तकको रुपमा उतारेर प्रकाशन सँख्या र बिक्रि बढि देखाएर रातारात प्रसिद्ध हुने खेलमा पनि लागेका छन् । यस्ता पुस्तकलाई हटाएर हेर्ने हो भने नेपालमा पुस्तक पढ्ने र किन्ने मानिस छैनन् भने पनि हुन्छ । भारतको र्सवाधिक शिक्षित राज्य केरलामा भारतभर अति नै लोकप्रिय क्रिकेट हेर्ने भन्दा पुस्तक पढ्नेको संख्या बढी रहेको छ । अहिले राजधानीका हामी जस्ता युवाहरु खाली याहु, एमएसएनका च्याट रुममा घुमिरहेका छौं कि त प्रेयसी सँग नगरकोटको डेटिङमा विहान देखी वेलुका सम्मको हाम्रो दिनचर्यामा एक घण्टा पनि पुस्तकको लागि समय हुँदैन । मुलुककै सबैभन्दा सभ्य र शिक्षित मानिने काठमाडौंका मानिसले एक घण्टा पनि दिँदैनन् पुस्तकलाई कस्तो दुर्भाग्य ! हिजोको उच्च अध्ययन संस्कार अहिले तुच्छ बनेको छ कसैले पुस्तक पढ्नै चाहँदैन । पाठ्य पुस्तकबाहेक अरुको त नाम पनि थाहा छैन । हिजोको दिनमा शासनले हामीलाई पुस्तकबाट टाढा राख्यो आज आधुनिक बन्ने होडमा हामी पुस्तकबाट टाढा हुँदैछौं । कस्तो दुर्भाग्य ! पुस्तकको पनि अनि हाम्रा पनि ।
madanm05@gmail.com
Wednesday, May 2, 2007
पुस्तक, अध्ययन र हामी
Subscribe to:
Post Comments (Atom)
0 टिप्पणियाँ:
Post a Comment