Saturday, May 5, 2007

अनलाइनमा पत्रकारिता

पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा आवाज र दृश्यको प्रयोग गरी सूचना तथा समाचारको प्रकाशन प्रशारण गरे जस्तै इन्टरनेटको संजालभित्र विभिन्न वेभसाइटमार्फ् सूचना तथा खबरहरु उपलब्ध गराउने तथा समाचार सामग्रीहरु प्रकाशित गर्ने काम अनलाइन पत्रकारिता हो । अनलाइन पत्रकारिता अथवा इ-जर्नालिजम छापा, रेडियो तथा टेलिभिजन माध्यमको मिश्रति रुप हो । यसमा ध्वनी, दृष्य र अक्षर तिनवटैको प्रयोग भएको पाउन सकिन्छ । त्यसैले त अनलाइनलाई नयाँ माध्यमको रुपमा लिइन्छ । कुनै पनि समाचार साइटमा लगइन गरेका खण्डमा यी तिनै थरिका माध्यम एउटैमा प्रयोग भइरहेको पाउनुहुनेछ । कम्प्युटरको पर्दामा देखिने प्रकाशित समाचार सामग्री, विभिन्न कलात्मक रुपमा देखिने तस्वीरहरु तथा मल्टिमिडियाको माध्यमबाट सुन्न र हेर्न सकिने आवाज तथा तस्वीरलाई अनलाईन मार्फत यसले समेट्न सकेको छ ।

कम्प्युटर र सूचना प्रविधिको चमत्कारिक विकास २१औँ शताब्दीमा भएपछि अनलाइनमा पत्रकारिता गर्न थालिएको हो । कम्प्युटरको अत्यधिक प्रयोग तथा इन्टरनेटको बिस्तार र सुपथ मुल्का कारण मानिसहरुले धेरै समय इन्टरनेटमा बसेर बिताउने कारणले अनलाइन पत्रकारिता अहिले फस्टाउँदो क्रममा रहेको छ । अहिलेको विश्व जनसङ्ख्याको ठूलो हिस्सा सूचना आदान प्रदानको लागि अनलाइन माध्यममा भर पर्न थालेको छ । एक क्लिकमा नै विश्व आँखा अगाडी आउने भएपछि कसले नगर्ने त्यसको प्रयोग । सन् १९६९ मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्प्युटरको नेर्टवर्क अर्पानेटबाट प्रयोगात्मक रुपमा सूचनाहरु आदान-प्रदान गर्न शुरु गरेको सानो नेर्टवर्क सन् १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरु बनाउनको लागि अत्यावश्यक एचटीएमएल कोडहरुको विकास गरेपछि द्रुत गतिमा विकास हुन थालेको हो । फलस्वरुप हजारौँ वेभसाइटहरुको निर्माण सभव भयो । इन्टरनेट र वर्ल्डवाइड वेभको आविस्कारले मानव जीवनको सूचना लिने र पठाउने प्रक्रियामा व्यापक परिवर्तन आउनुको साथ-साथै सन् १९९२ मा पहिलो पटक अमेरिकाको शिकागो ट्रिव्युन अनलाइनको रुपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तवमा अनलाइन पत्रकारिताको शुरुवात भएको हो भनेर पेपर हिस्ट्री अफ अनलाइन जर्नालिजम पुस्तकमा अमेरिकी पत्रकार मार्क डुजे ठोकवा गर्दछन्।

हाल आएर विश्व विख्यात अखबारहरु सबैजसोले अनलाइन संस्करण प्रकाशित गर्दछन् ।त्यसो त सि.एन.एन., बि.बि.सी. जस्ता टेलिभिजन नेर्टवर्क, एपी, एएफपी, रोयर्टस, सिन्हृवा जस्ता समाचार एजेन्सीहरु पनि अनलाईन संस्करणमा बुलेटिन निकाल्न कहाँ पछाडि छन् र ।मामात्र । ठूलो सङ्ख्यामा प्रकाशित हुने भारतीय तथा चाइनिज अखबारहरु यसअघि नै इन्टरनेटमा उपलब्ध छन् । भूटानजस्तो सूचनाको मामलामा पछि परेको देशले समेत उसको सरकारी मूखपत्र क्युनसेल अनलाइनमा प्रकाशित गरेर सरकारी सूचना तथा समाचारहरु उपलब्ध गर्ने गरेको छ ।

यसले पाठक स्रोता र दर्शक पत्रपत्रिकाहरु, रेडियो र टेलिभिजनमा मात्र सीमित नभएको देखाउँछ । सीएनएन, बीबीसी तथा अन्य कैयन् विश्वप्रसिद्ध समाचार साइटहरु मात्र हैन, आज हाम्रै नेपालमा पनि विभिन्न समाचार साइटहरु इन्टरनेटमा प्रकाशित भैसकेका छन् । केही वर्षअघिसम्म पत्रिकाले उसको उपस्थिति इन्टरनेटमा गराउनु गौरवको विषय ठानिन्थ्यो । कुनै अखबारले आफ्नो उपस्थिति इन्टरनेटमा जनाएमा आफ्नो अखबारको अग्रभागमा इन्टरनेट ठेगाना छाप्न उनीहरु उत्साहित हुन्थे । तर हिजो आज यो क्रम सामान्य बनेको छ र अधिकांश नेपाली मिडियाहरुले आ-आफ्नै वेभसाइटमार्फ् र केहीले अरु समाचार पोर्टल साइटहरुको माध्यमबाट समाचार प्रकाशित गरिरहेका छन् । नेपाल न्यूज डट कमले निकै लोकप्रियता हासिल गरको छ भने ई-कान्तिपुरले बजार बनाउँदै गएको छ। सन् १९९५ मा मर्कन्टाइलको व्यापारिक वेभसाइट साउथ-एशिया डट कममा अङ्ग्रेजी दैनिक द काठमाडौँ पोस्ट पहिलो पटक राखिएको थियो । यो अखवार मर्कन्टाइल र कान्तिपुरको संयुक्त प्रयासमा इन्टरनेटमा उपलब्ध एशियाकै पहिलो थियो । नेपाल न्यूज सन् १९९९ मा शुरु हुँदा अन्य कुनै पनि यस्ता नेपाली साइटहरु इन्टरनेटमा उपलब्ध नभएकाले नेपाल न्यूजले अन्य ७ प्रतिष्ठित नेपाली प्रकाशनहरुलाई इन्टरनेटमा राख्न पाउने सम्झौता गर्‍यो । कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशन लगायत अन्य कतिपय साप्ताहिक र मासिक प्रकाशनहरुलाई नेपालन्यूज मार्फ् प्रकाशित गर्न थालियो । त्यति मात्र नभएर नेपाली विभिन्न साप्ताहिकहरु पनि अनलाइन पत्रकारिताको अभ्यासमा जुटेका छन् । देशान्तर, दृष्टि, गतिबिधि जनआस्था, बिमर्श, जनधारणा, नेपाली टाइम्स, नेपाल ट्राभल ट्रेड, निष्पक्ष, स्पटलाइट, टेलिग्राफ, सत्याग्रह, युगसंवाद, इन्डिपेन्डेन्ट लगायत अखबारहरु अनलाइन भैसकेका छन भने पाक्षिक तथा मासिकहरु मध्ये हिमाल, नेपाल, समय, कामना, मुग्लान, सर्वोतम नारी, साधना, युवामञ्च, वेभ लगायतका पत्रिकाहरु इन्टरनेटमा उपलब्ध भईसकेका छन् ।

नेपाली अनलाइन पत्रकारिताको विकास र विस्तारमा मदन पुरस्कार पुस्तकालयका अम्बर गुरुङ र उनको टिमको ठूलो योगदान रहेको छ । मदन पुरस्कार पुस्तकालयले बनाएको एकिकृत फन्ट यानेकी युनिकोड (युनिभर्सल न्युमेरिकल आइडेन्टीटी कोड)को मद्दतले नेपाली भाषामै अनलाइन पत्रकारिता गर्न सकिने स्थिती बनेको छ । अहिले प्रसिद्ध र्सच इन्जिन गुगल नेपाली भाषामा नै हेर्न मात्र होइन नेपाली मै वेब र्सच गर्न पनि सकिन्छ । जसले गर्दा अनलाइन तथा कम्प्युटरको प्रयोगका लागि अंग्रेजी नै जान्नु पर्दछ भन्ने छैन । नेपालीनक्सको विकासले त झन सम्पूर्ण कम्प्युटर नै नेपाली बनाइदिएको छ । त्यसले गर्दा सम्पूर्ण रुपमा नेपाली भाषाबाटै अनलाइन पत्रकारिता गर्न सकिने भएको छ । त्यसो त नेपाली भाषामा अनलाइन पत्रकारिता परेवा डटकम, हाम्रो समाचार डटकम लगायतले गरिरहेका छन् । अहिले नेपाली भाषामा करिब एक दर्जन साइट मार्फत अनलाइन पत्रकारिता भइरहेको छ । नेपालबाट कामको खोजीमा विदेश पसेकाहरुको सहयोग र सक्रियतामा नेपाल सम्बन्धि समाचारहरु राख्ने अनलाइनहरुको विस्तार भइरहेको छ । त्यासो त मेल मार्फत समाचार बुलेटिनको रुपमा पठाएर समेत मेल पत्रकारिताको सुरुवात समेत भएको छ । ब्लग साइटहरुले गर्दा अनलाइनमा समाचार राख्ने काम त सहज भएको छ नै तर विश्वसनियता पाउन भने ठूलै चुनौति लिनुभने पर्नेछ । अनलाइन पत्रकारिताको विकास र विस्तारका कारण विभिन्न रेडियो तथा एफएम स्टेशनहरुले आफ्ना कार्यक्रमहरु अनलाइनमा समेत सुन्न सकिने बनाएका छन् । रेडियो नेपाल, रेडियो सगरमाथा, हिट्स एफएम, कान्तिपुर एफएम, एचबीसी जस्ता रेडियो स्टेशनका कार्यक्रमहरु अहिले अनलाइनबाट विश्वभर सुन्न सकिन्छ । इन्टरनेटको विस्तार सँगै अनलाइनमा गरिने पत्रकारिताले अझ व्यापकता पाउनेमा कुनै शंका नै छैन । प्राविधिक विकासले गर्दा यो सस्तो, सहज त छँदैछ सूचना प्राप्तिको हिसाबले चुस्त पनि ।

madanm05@gmail.com

0 टिप्पणियाँ: