पृष्ठभूमि
नेपाल हजारौं वर्षपुरानो सभ्यताको इतिहास भएको मुलुक हो । वैज्ञानिक, धार्मिक एवं साँस्कृतिक आधारमा नेपाललाई सृष्टिको मूलभूमिको रुपमा लिइने गरिएको पाइन्छ । नेपालसँग लेखनको विकास र अभ्यासको लामो इतिहास रहेको छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ 'वेद' को लेखन कृष्ण द्वैपायन (व्यास)ले नेपालमा गरेको तथ्यले नेपालमा आमसञ्चारको सबैभन्दा पुरानो माध्यम किताब लेखनको सुरुवात भएको देखाउँछ । नेपालमा आमसञ्चारको पुरानो माध्यम पुस्तकको लेखन निक्कै अगाडी भएको भएपनि आमसञ्चार तथा पत्रकारिताको अहिलेको अभ्यास र विकास भने पश्चिमा अभ्यास र सफलताको अनुसरण नै हो । विक्रमको १०३८ को आसपासमा लेखिएको दुल्लुको दामुपालको शिलालेखले नेपाली समाजमा सूचनाको प्रवाह गर्ने परिपाटीलाई देखाउँछ । यसले इंस्वी संवत् ९८१ मा नै नेपालमा शिलालेख तथा ताम्रपत्रहरु मार्फत् सूचनाहरु लेखेर र्सवसाधारणलाई उनीहरुको आवत जावत हुने स्थान मन्दिर, पाटी पौवा लगायतका ठाउँमा राख्ने गरिन्थ्यो । सञ्चारको अभ्यासमा भारतवषिर्य मुलुकहरु निक्कै अगाडी रहेका भएपनि अहिलेको आमसञ्चार तथा पत्रकारिताको क्षेत्रमा भएका विकास र अभ्यासहरु चाहिँ पश्चिमा सभ्यताको नै देन हो ।
नेपाली पत्रकारिताको अभ्यास भने नेपाली भाषाले लेख्य रुप पाएको नौ सय २० वर्षछि मात्र गोर्खापत्र साप्ताहिक प्रकाशनबाट सुरु भएको हो । यद्यपी त्यस भन्दा अगाडी पनि विभिन्न साहित्यिक, धार्मिक पुस्तक तथा पत्रपत्रिकाहरु प्रकाशनमा आएका थिए । तत्कालिन समयमा राणा शासन विरुद्धमा पुस्तक तथा पत्रपत्रिकाहरुमा कुनै पनि सामग्री प्रकाशन नहुन् भनेर प्रकाशन हुने पुस्तकहरु गोर्खाभाषा (पछि नेपाली भाषा) प्रकाशिनी समितिले जाँच पास गरेर मात्र प्रकाशन हुने व्यवस्था थियो । साहित्यिक एवं धार्मिक प्रकाशनहरु पत्रकारितामा नपर्ने भएकाले समाचारको संकलन र प्रस्तुतीकरण गर्ने गोर्खापत्र (विक्रम संवत् १९५८ वैशाख २४)बाट नै नेपालमा पत्रकारिताको सुरुवात भएको हो । गोर्खापत्रमा खबरहरु आउन थालेपछि त्यसरी आउने खबरहरुमा नियन्त्रण राख्न साथै खबरहरुलाई मर्यादित बनाउनको लागि गोर्खापत्रमा प्रकाशन गर्न हुने र नहुने कुराहरू किटेर तत्कालिन श्री ३ देव समशेरले वि.सं. १९५८ वैशाख बदी ११ रोज २ का दिन एक सनद जारी गरेका थिए ।
नेपाली पत्रकारिताले पूर्णरुप धारण गर्दा नगर्दै पश्चिमा मुलुकहरुमा भने पत्रकारिताले व्यवसायिक रुप हासिल गरी पत्रकारहरुको संगठनबाट नै आफ्नो पेशागत मर्यादाको लागि आचार संहिता जारी गरिसकेका थिए । सन् १९२२ (वि.सं १९७९)मा अमेरिकन सोसाइटी अफ न्युजपेपर्स एडिर्टसले पत्रकारिताको उच्च व्यवसायिक मापदण्डलाई प्रोत्साहित गर्न भनेर आचार संहिताको घोषणा गर्यो जसलाई विश्वको पहिलो पत्रकार आचार संहिताको रुपमा लिइन्छ । नेपालमा गोर्खापत्रमा प्रकाशन हुने समाचारहरुको नियन्त्रण तथा मर्यादित बनाउनको लागि सरकारी तर्फाट सनद जारी भएको २१ वर्षपछि मात्र पश्चिमा मुलुकमा कार्यरत पत्रकारहरुले पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको अभ्यास सुरुगरेको पाइन्छ । तर, सो सनद पत्रकारितालाई व्यवस्थित र मर्यादित राख्न भन्दा पनि समाचार र सूचनामा नियन्त्रण राख्न आएकोले यसलाई आचार संहिता नै हो भन्न नसकिएपनि नेपाली पत्रकारितामा यसले आचार संहिताको सुरुवात भने गरेको पक्कै हो ।
विषय प्रवेश
कुनै पनि पेशा वा व्यवसायमा स्वच्छ वातावरण निर्माण गर्नको लागि त्यसमा संलग्न मानिसहरुलाई नैतिक र मर्यादित बनाउन तयार पारिएको अनुशासन नै आचार संहिता हो । वैदिक समयमा समाजमा अनुशासन, सद्भाव अनि नैतिक रुपमा समाज संचालनका लागि धार्मिक तथा सांस्कृतिक बन्धनहरु मानिसको आचार व्यवहारलाई नियन्त्रण गर्ने आधार थिए । धार्मिक भावनाबाट प्रभावित नराम्रो काम गरे पाप लाग्ने साथै नर्क गइने मान्यताले नै एक हद सम्म आचार संहिताको काम गरेको थियो । पाप र नर्कको डरका कारण मानिसहरु गलत आचरण तथा व्यवहार गर्दैनथे ।
''मुण्डे मुण्डे मतिर्भिन्नाः'' भनेझै पत्रकारिताको आचार संहिताबारे विभिन्न सञ्चार तथा आमसञ्चारविद्ले फरक फरक मत दिएका छन् । तर पनि सबैको मत अन्त्यमा आचार संहिता पत्रकारितालाई स्वच्छ, नैतिक र जनउत्तरदायी बनाउनको लागि अपनाइने आत्मअनुशासन हो भन्नेमा पुगेको पाउन सकिन्छ । आमसञ्चार माध्यमको विकास विस्तार सँगै पत्रकारितामा बढ्दै गएको सनसनी पूर्ण समाचारको प्रस्तुतीकरणले गर्दा पत्रकारितामा आचारसंहिताको आवश्यकता महशुस भयो । खासगरी जोसेफ पुलित्जर र विलियम हेरस्टले आ-आफ्नो पत्रिकाको बजार विस्तार गर्नको लागि सन् १८९० को दशकमा सनसनीपूर्ण सामग्रीहरुको प्रकाशन गर्न थाले जसलाई पीत पत्रकारिता भनियो । पत्रकारितामा देखिएको पीतपनाले यस क्षेत्रमा रहेको गैरजिम्वेवारपनलाई नियन्त्रण गर्न र यो पेशालाई मर्यादित, नैतिक अनि समाज प्रति उत्तरदायी बनाउनको लागि आचारसंहिताको आवश्यकता महशुस गरियो ।
आचार संहिता पत्रकारहरुको नैतिक सिमाना भएको हुनाले यसलाई सरकार वा राज्यले बाध्यात्मक हुने गरि कार्यान्वयन गराउन र पालना नगरेको खण्डमा कारवाही गर्न सक्दैन । आचारसंहिता मुलुकको शासन व्यवस्था, धार्मिक, सांस्कृतिक एवं सामाजिक अवस्थिति हेरेर फरक फरक तरिकाले तयार गरिएको हुन्छ । खासगरि विश्वमा सन् १९२३ मा स्वीडेनबाट प्रेस काउन्सिलको अबधारणा आएपछि विश्व आमसंचारको क्षेत्रमा आचार संहिता निर्माणका सवालहरु उठ्न थालेको हो । सन् १९२२ मा अमेरिकन न्युजपेपर्स एडिटर सोसाइटीद्धारा पत्रकारिताको उच्च व्यवसायिक मापदण्डलाई प्रोत्साहित गर्न बनेको आचार संहितालाई पत्रकारिताको पहिलो आचार संहिताको रुपमा लिइन्छ । पाश्चात्य मुलुकहरु जर्मनी, अमेरिका, बेलायतमा पहिला आमसंचारमाध्यमहरुको बिकास भएकाले त्यहाँ विभिन्न समयमा राज्यका तर्फाट पनि पत्रकारितालाई नियन्त्रण तथा व्यवस्थित गर्न कानुन तथा आचार संहिता नै निर्माण भएका थिए । छिमेकी मुलुक भारतमा सन् १९४४ मा प्रेस काउन्सिलद्धारा केही निर्देशक बुँदाहरुलाई आचार संहिताको रुपमा जारी गरिएकोे थियो । पाकिस्तानमा सन् १९६५ मा त्यहाँको संसदद्धारा, श्रीलंकामा सन् १९८१ मा त्यहाँको संसदद्धारा र बंगलादेशमा सन् १९७० को अन्त्यतिर आचार संहिता जारी भएको थियो । सुरु सुरुमा छापा माध्यम मार्फ हुने पत्रकारिताका लागि मात्र आचार संहिता तयार गरिएकोमा पछि बिद्युतीय संचार माध्यमहरुलाई व्यवस्थित गर्नको लागि आचार संहिताको निर्माण भएको पाइन्छ । यस क्रममा सन् १९२२ मा टेलिभिजन, सन् १९३० मा चलचित्र र सन् १९३७ मा रेडियोका लागि आचार संहिता निर्माण भएको पाइन्छ ।
नेपालमा भने सनद बाहेक आचरण कै लागि भनेर वि सं २०१५ सालमा प्रेस कमिशनले पत्रकार आचरण सम्बन्धी १८ बुँदे नियम र वि सं २०२३ सालमा सम्पन्न नेपाल पत्रकार संघको प्रथम भेलाले २२ सूत्रीय आचार संहिता र्सार्वजनिक गरेको थियो । प्रजातन्त्रको पुनःस्थापना २०४७ सालमा भएपछि वास्तविक रुपमा पत्रकारिताको अभ्यास हुनसक्यो । त्यसै समयमा प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता २०४७ को व्यवस्था जसलाई परिमार्जन गरी पत्रकार आचार संहिता २०४९ जारी गरियो । सरकारी क्षेत्रबाट २०५० सालमा पनि प्रेस काउन्सिलबाट अर्को आचार संहिता आयो । सरकारी तर्फाट आचार संहिता जारि हुने प्रचलनलाई तोड्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले २०५० सालमा पत्रकार आचार संहिता जारी ग-यो । २०५५ सालमा प्रेस काउन्सिल र पत्रकार महासंघ दुवैले संयुक्त आचार संहिता जारी गरे भने पत्रकारितालाई मर्यादाको घेरामा राख्न अहिले पत्रकार आचार संहिता २०६० क्रियाशिल रहेको छ ।
नेपालमा पत्रकारिता र आचार संहिताको अभ्यास
नेपाल आफ्नो स्थापनाकाल देखी नै हिन्दु अधिराज्यको रुपमा रहेका कारण यहाँका सबै खालका गतिविधि हिन्दु मान्यता अनुसार सञ्चालित थिए । पाप र नर्कको डर नै मानिसलाई नैतिक बनाइराख्ने आधार थियो । पुस्तकको प्रकाशन यसै आधारमा भएको भएपनि गोर्खापत्रको आगमन सँगसगै पत्रकार आचार संहिताको प्रारुपको रुपमा सनद जारी भएको पाइन्छ । वि सं १९५८ बैशाख ११ गते गोर्खापत्रमा के छाप्न हुने र के छाप्न नहुने भनेर निर्देशन दिनको लागि अख्तियारीको रुपमा देव समशेरले सनद जारि गरेका थिए । जसमा छाप्न हुने र नहुने किटेर नै व्याख्या गरिएको थियो ।
छाप्न हुने
"दुनियांलाइ हुन्या इस्तीहार नटासिने कुरा र नयां जारी भयाको ऐनको कुरा, कलकत्ताको र यहांको दरभाउ । जंगी निजामतिले असल तरकी गरेकोमा उनको पर्ुखावली देखीको वयान ...। हामी (श्री ३) बाट र मुखत्यारले दुनियालाइ इसपीच दिएको । अनोठा अनोठा कुरा अर्थात आकासमा उडेर जाने समुद्र भित्र जाहाज लगेको देषका दायामा आयाको र याहां भयको कुरा । अदालत विषयमा अन्याय भयाको प्रमाण पुग्याको दोभिता भयाको अड्डाखानाका हाकिम अड्डामा नबसी फोहर गरेकोमा गरेको पक्का गरी छापनु ।
...... कसुर भै हाकिमहरू अदली वदली भयाको कुरा पनि छापी दिनु । पहाड मदेशमा जुलुम भयाको .... । खेती पाति विषयर् इलम विषय धर्म विषय उन्नतिको असल-असल कामको कीतापको उलथा गरी छापनु । श्री ५ को सरकारको ठुलो-ठुलो उत्सवको कुरा छापनु हुन्छ सोर्गेवासी श्री ३ महाराजको तारीफ छापनु हुन्छ । वावुले कमायाको धन जुवा रंडीवाज वदनियत गरी खर्च गर्नेको दिड पनि छापी दिनु । सीकारका विषय हाम्रा गोर्खालीले फलानाले खुकुरीले चीतुवा भालु लाई हाने मारे भने इत्यादि वाहादुरी गरेको छापनु हुन्छ । ग्याजेट प्रोग्राम पनि छापनु । वैंकटेश्वर बंगवासी छापाको असल-असल कुरा उलथा गरी छापी दिनु । दुनियांको वदचलन फतुरा खर्चबाट दिल हटाउने राय छापनु हुन्छ । डाक्टरहरूले यसलाई आराम गर्दा यति खिल्लत पाया भन्या ।"
छाप्न नहुने
श्री ५। ३ सरकारका दरबार भित्रका स्वास्नी मानिसका विषय । फौज विषय र हातहतियार राजकाज विषय । सरकारका आम्दानी खर्च विषय । भोटको र हाम्रो सेवानाका विकट बाटाको वयान । सुन खानीका धाउ पायाका कुरा ।अनेत्र पंचराज्य विषयलाई तारिफ हुने कुरा भयाका कितापका उलथा गरि नछापनु । हाम्रो तारिफका कुरा नछापनु ।
यसरी नेपालको पहिलो अखबारको रुपमा गोर्खापत्रको प्रकाशन हुनु अगाडी सनद जारी गरि के छाप्ने र के नछाप्ने भनेर तत्कालिन राणा प्रधानमन्त्रीले दिएको आदेश भएपनि यस सनदलाई नेपाली पत्रकारिताको लागि तोकिएको आचार संहिता नै मान्न सकिन्छ । यसले राजदरबार भित्रका विषय साथै राज्य सञ्चालन र सैनिक सूचना बाहेकका दुनियाका हित हुने सबै कुराहरुलाई छाप्नको लागि बाटो खोलिदिएको छ । यसमा खास किसिमका सूचना बाहेकका सरकारी कर्मचारीका खराब गतिविधि प्रकाशन गर्न हुने तर श्री ३ सरकारको तारिफ छाप्न नहुने भनेबाट यो सनदले सूचनामाथि नियन्त्रण मात्र होइन गोर्खापत्रलाई जनताप्रति केही हदसम्म जिम्मेबार बनाउने काम पनि गर्यो । सुधारवादी मानिएका राणा प्रधानमन्त्री देव समशेरले कानुनको रुपमा जारी गरेको भएपनि गोर्खापत्रको लागि जारि सनद नेपालमा आचार संहिताको पहिलो अभ्यास थियो ।
नेपालको राजनीतिक वातावरण खुला र प्रजातान्त्रिक नभएको साथै निरक्षरता र आर्थिक विपन्नताका कारण सरकारी तहबाट बाहेक नीजि क्षेत्रबाट कुनै पनि अखबार निस्कन सकेनन् । जसले गर्दा सनद बाहेक अन्य कुनै प्रकारको आचार संहिताको आवश्यकता पनि महशुस भएन । नेपाली पत्रकारिताको विकास २००७ सालसम्म हुन सकेन तर साहित्यिक गतिविधिलाई प्रबर्द्धन गर्नको लागि केही साहित्यिक पत्रपत्रिकाहरु प्रकाशन भएपनि तिनिहरुलाई गोर्खा भाषा प्रकाशिनी समितिले नै हेर्ने गर्दथ्यो । प्रजातन्त्रको स्थापना सँगै साप्ताहिक समाचारपत्रहरुको प्रकाशन हुन थाल्यो । जसले गर्दा सानो संख्यामा भएपनि पत्रकारहरुको समूह तयार भयो । यसरी क्रियाशिल पत्रकारहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले २००८ सालमा सत्यनारायण श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघको स्थापना भयो । यो संघ बीचमै हराएपछि २०१२ सालमा आएर कृष्णप्रसाद उपाध्याय (भट्टराई) को अध्यक्षतामा अर्को पत्रकार संघ जन्मियो । २०१४ सालमा गठन भएको नेपालको पहिलो सरकारी प्रेस कमिसनले पहिलो पटक पत्रकारिताको तत्कालीन अवस्था र त्यसको विकासका लागि गर्नुपर्ने सुधारका पक्षलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनको परिच्छेद १२ मा पत्रकारका लागि आचारसम्बन्धी १८ बुँदे संहिताको सिफारिस गरेको थियो । यसमा पनि सत्य, तथ्य, निष्पक्ष र स्वार्थरहित पत्रकारिताका कुराहरू नै समाहित थिए । आपसी कलहमा रुमलिंदै २०१९ सम्ममा आइपुग्दा नेपालमा पत्रकारहरुको संघको संख्या तीन वटा बन्न पुग्यो । २०२३ सालमा पछिल्ला दुई संघको एकीकरण भएपछि सो संघले २२ बुँदे आचारसंहिता जारी गर्यो । यो नै पत्रकारहरूको पेशागत संगठनले तयार गरेको पहिलो आचारसंहिता थियो ।
विश्व अभ्यासको अनुसरण गर्दै विसं २०२७ सालमा नेपालमा पनि प्रेस काउन्सिलको गठन भयो । यसको मातहत वि सं. २०२४ मा प्रेस सल्लाहकार समितिको गठन गरियो जसलाई परिमार्जन गरी केही समयपछि सल्लाहकार परिषद् बनाइयो । तत्कालीन न्यायाधीश नैनबहादुर खत्रीको अध्यक्षतामा गठन भएको परिषद्ले २१ बुँदे आचारसंहिता जारी गर्यो जसको लागि छापाखाना र पत्रपत्रिकासम्बन्धी ऐन २०३२ ले काउन्सिललाई छापाखाना र प्रकाशन आचारसंहिता जारी गर्ने अधिकार दिएको थियो । काउन्सिलले २०३३ मा जारी गरेको २२ सूत्रीय छापाखाना र पत्रकार आचार संहितामा पत्रकारले राष्ट्रिय दृष्टिकोण एवम् राष्ट्रिय हितलाई ध्यानमा राखी देश, नरेश र दलविहीन पञ्चायती व्यवस्थाप्रति पूर्णत: आस्थावान् भई पत्रकारिताको अभ्यास गर्नुपर्ने उल्लेख थियो । तर निरन्तर रुपमा आचार संहिताहरू बने पनि व्यवहारमा लागू हुन भने सकेनन् । आचारसंहिता लागू गर्न नसकेपछि छापाखाना र प्रकाशन ऐन २०३९ ले प्रेस काउन्सिल र आचार संहितालाई सशक्त पार्न प्रेस प्रतिनिधि प्रमाणपत्र खारेजी वा निलम्बनको सिफारिस गर्ने अधिकार समेत काउन्सिलले पायो । अधिकार सम्पन्न काउन्सिलले २०४१ माघमा फेरि ११ बुँदे आचारसंहिता र्सार्वजनिक गर्यो । त्यसको लगत्तै २०४२ सालमा पत्रकारहरूकै तर्फाट आचारसंहिता निर्माणको पहल भयो । पत्रकारितालाई स्वतन्त्र र मर्यादित बनाउन त्यसबेलाका प्रतिष्ठित दैनिक र साप्ताहिक गरी १४ वटा पत्रिकाका सम्पादकहरूको हस्ताक्षरमा १० बुँदे पत्रकार आचार संहिता जारी भयो ।
वि सं. २०४६ सालको राजनीतिक परिवर्तनले प्रजातन्त्रको पुनःस्थापना गरेपछि प्रेस काउन्सिलले २०४७ मा फेरी नयाँ पत्रकार आचार संहिता ल्यायो । पछि २०४८ सालमा नयाँ प्रेस काउन्सिल ऐन पारित भएपछि त्यसैलाई परिमार्जन गरि पत्रकार आचारसंहिता २०४९ जारी गर्यो । प्रजातन्त्रको पुनःस्थापनाले वाक् तथा प्रकाशन स्वतन्त्रताको ढोका खोलेपछि नेपाली पत्रकारितामा केही व्यवसायिकताको छनक देखा पर्यो जसले नेपालमा पत्रकारिता पेशामा व्यापकता आयो । पत्रपत्रिका प्रकाशन हुने क्रम बढेर गयो साथै पत्रकारितामा अस्वस्थ अभ्यास र केही हद सम्म पीत पत्रकारिता पनि हुनथाल्यो । राजनीतिक आस्थाका आधारमा व्यक्तिहरुमाथि कपोलकल्पित आक्षेपहरु लगाउने क्रम बढ्यो जसले गर्दा पत्रकारहरुलाई निश्चित सिमामा राख्नको लागि आचार संहिताकेा अनुभव भयो । २०५० सालमा फेरि नेपाली पत्रकारहरूको संघको भेलाले वीरगञ्ज घोषणापत्रमा १४ बुँदा आचारसंहिता जारी गर्यो । आचार संहिताको कार्यान्वयनका लागि अनुगमन गर्न कानुनविद् बासुदेव ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय आचारसंहिता अनुगमन समितिको गठन भयो । पत्रकारहरुको संघ र नेपाल प्रेस काउन्सिलले छुट्टाछुट्टै आचार संहिता जारी गर्ने परम्पराको अन्त्य गर्दै पत्रकार महासंघ (पहिलाको पत्रकार संघ) र नेपाल प्रेस काउन्सिलले पहिला जारी भएका संहिताहरूलाई मिलाएर संयुक्त रुपमा पत्रकार आचार संहिता २०५५ जारी गरे । पहलिा पहिला नेपालमा नीजि क्षेत्रबाट रेडियोको प्रशारण भएको भएपनि त्यस मार्फत् पत्रकारिता हुँदैनथ्यो । त्यसैले त्यस समयमा विद्युतिय सञ्चारलाई आचार संहितामा स्थान दिइएको थिएन । पुराना आचारसंहिताका तुलनामा २०५५ को आचार संहिता व्यापक रहेको छ । यसले विद्युतीय सञ्चारलाई पनि समेटेको छ । आचारसंहिता जारी हुने क्रम चलिरहँदा मुलुकको राजनीतिक घटनाक्रमको विकास र पत्रकारिताको अभ्यासमा आएका थप नयाँ चुनौती एवं मान्यताहरुलाई स्वीकार गर्दै २०६० बैशाख २० गते महासंघ र काउन्सिलले पत्रकारले गर्न हुने र नहुने भनेर स्पष्टै छुटयाएर नयाँ आचारसंहिता र्सार्वजनिक गरेका छन् । जुन संहिताले छापामाध्यमका अतिरिक्त विद्युतीय माध्यममा रेडियो, टेलिभिजन मात्र नभएर अनलाइन मार्फ हुने पत्रकारितालाई पनि समेटेको छ । उक्त आचार संहितामा पत्रकारले निर्वाह गर्ने कर्तव्यहरु भनेर निम्न बुँदाहरू समेटिएका छन्-
१) प्रेस स्वतन्त्रताको संरक्षण सर्म्वर्द्धन
२) मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान
३) सूचनाको हकको रक्षा र प्रचलन
४) सत्यतथ्य सूचनाको सम्प्रेषण
५) सम्पादकीय स्वतन्त्रता
६) गोपनीयताको हकको सम्मान
७) उच्च व्यावसायिक अभ्यास
८) शिष्ट व्यवहार
९) गल्ती सच्याउने तत्परता
१०) सामाजिक उत्तरदायित्व
११) आपसी सम्बन्ध व्यावसायिक हुनुपर्ने
त्यसै गरी पत्रकारले नगर्ने काम भनी निम्न कुराहरू राखिएको छ-
१) राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने
२) सामाजिक संरचनामा प्रतिकूल असर पार्न नहुने
३) समाचारको स्रोत खोल्न नहुने
४) निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने
५) भेदभाव हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने
६) पीडितलाई थप पीडा हुने गरी समाचार सम्प्रेषण गर्न नहुने
७) हिंसा, आतंक र अपराधलाई प्रोत्साहन गर्न नहुने
८) घृणा र उत्तेजना फैलाउने गरी विभत्स तस्वीरहरू प्रकाशन गर्न नहुने
९) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने
१०) तथ्यहीन समाचार प्रकाशन गर्न नहुने
११) विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्न नहुने
पत्रकारले समाचारको स्रोत खोल्नु पर्दछ भन्ने प्राबधान राखिएको यस आचार संहितामा गोप्य श्रोतको संरक्षण गनुपर्ने अवस्थामा श्रोतको नाम र पहिचान गोप्य राख्नु पर्ने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गरी उसको गोपनीयता,चरित्रहत्या सम्बन्धि समाचार प्रस्तुत गर्न नहुने, यौनजन्य अपराध, सामाजिक अवहेलना एवं घृणाजन्य घटना वा सर्न्दर्भमा पीडित व्यक्तिको नाममा पीडा पुग्ने गरी समाचार, दृश्य, तस्वीर प्रकाशन गर्न नहुने, श्रोत उदृत नगरी समाचार उपभोग गर्न नपाइने व्यवस्था र मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान जस्ता महत्वपूर्ण बिषयहरु संलग्न गराइनु यो आचार संहिताको विशेषता हो । अहिले सम्म जारी भएका आचार संहिताहरु मध्ये बढि स्पष्ट र विविधता भएको आचार संहिताको रुपमा २०६० को पत्रकार आचार संहिता रहेको छ । पहिला पहिला पत्रकारले के गर्न हुँदैन भन्नेमात्र उल्लेख हुने गरेकोमा यसमा पत्रकारले के के गर्नेभन्ने पनि स्पष्ट उल्लेख गरिएको छ । यो पत्रकार आचार संहिता मुलुकमा देखिएको विषम परिस्थितीका कारण २०५८ सालमा जारी भएको संकटकाल साथै संसदिय निर्वाचन हुन नसकेका कारण असोज १८ र माघ १९ मा भएको राजनीतिक परिवर्तन सँगै नेपालमा यस आचार संहिताको पुर्ण पालन हुने वातावरण बन्न सकेन । सुरुमा पत्रकारहरुले पालनामा खासै चासो नदेखाए पनि पछिल्लो स्थितीमा सैनिक परिचालन, विभिन्न राजनीतिक चलखेलका कारण यसले समेटेका भावना अनुसार आचार व्यवहार हुन सकेनन् । यसरी नेपालमा पत्रकारितालाई मर्यादाको घेरामा राख्न सामाजिक उत्तरदायित्व पत्रकारिता क्षेत्रले निर्वाह गर्न सकोस् भन्ने हेतुले पहिलो अखबारको प्रकाशन देखी आज सम्म सरकारी तथा गैर सरकारी तहबाट विभिन्न समयमा आचार संहिता जारी भएका छन् । यसरी जारी भएका सबै आचार संहिताहरुको उद्देश्य नेपाली पत्रकारितालाई नेपाली मान्यता अनुसार हिंडाउनु नै हो ।
आचार संहिताको पालना र उल्लंघन
कानुनी राजको सिद्धान्त नै अहिलेको राज्य सञ्चालनको आधार हो । समाजका सबै वर्ग कानुनबाट शासित हुन्छन् र कानुनको आँखामा समान पनि । मान्यतामा समानता भएको भएपनि शक्तिशाली र धनी वर्गले भने कानुनमा रहेका स-साना कमि-कमजोरीलाई आधार बनाएर आफू भन्दा कमजोर वर्गमाथि आफ्नो हैकम लाद्न खोज्छन् । व्यापारी, पत्रकार, चिकित्सक, वकिलजस्ता वर्ग शक्तिको दायरामा रहेकामा पर्छन् । उनीहरूका गतिविधि कतिपय अवस्थामा सामान्य कानुनले रोक्न नसक्ने खालका हुन्छन् । त्यस्तो बेला उनीहरूको मार्गदर्शक भनेको उनीहरुले नै तयार गरको आचारसंहिता हुने गर्दछ । त्यसैले कानुन भन्दा बाहिरबाट हुने गतिविधिलाई सामाजिक रुपमा नियन्त्रित गर्ने एउटा माध्यम आचारसंहिता मानिन्छ । नेपाली पत्रकारिताको इतिहासमा झण्डै एक दर्जन आचार संहिताहरु जारी भएका पाइन्छन् । तर त्यसको व्यवहारिक रुपमा लागु भने निक्कै कम मात्र भएका छन् । खासगरी पञ्चायतकालीन आचार संहिता पालना बढि भएको पाइन्छ भने उल्लंघन भएको भन्दै कारवाही भएका पनि दर्जनौं उदाहरणहरु रहेका छन् ।
खासगरि २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि पत्रकारितामा अलिक बढि स्वच्छन्दता आएको देखिन्छ । आचार संहिता विशेष गरेर शक्ति केन्द्रमा पहुँच भएका र आर्थिक रुपले सक्षम समाचार माध्यम तथा पत्रकारले उल्लंघन गर्ने गरेको पाइन्छ । कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, राजधानी दैनिक, नेपाल समाचारपत्र दैनिक, सगरमाथा दैनिक, हिमालय टाइम्स, जनआस्था साप्ताहिक, बुधबार, घटना र विचार, विमर्श, साप्ताहिक (कान्तिपुर), सत्याग्रह साप्ताहिक, साप्ताहिक आवाज, निष्पक्ष साप्ताहिक, घटनाचक्र साप्ताहिक, देशान्तर, जनधारणा, जनप्रहार, फेमस साप्ताहिक, साधना मासिक, कामना मासिक, तथ्यकथा मासिक लगायतका दर्जनौं पत्रिकाहरुले मानिसहरुलाई विना आधार हल्लाको भरमा अनावश्यक लाञ्छना लगाउने लगायतका काम गरिरहेका छन् । कतिपय अवस्थामा जिवित मानिसको किरिया गरेको समाचार समेत प्रकाशन गर्ने, विज्ञापन नदिएको झोंकमा संस्थाहरु धराशायी भएको झूठो समाचार प्रकाशन गर्ने कार्यहरु भई रहेका छन् । तर पनि उजुरी, प्रमाण अनि त्यसको निदानको प्रक्रियाका कारण यस्ता घटनाहरु बाहिर आउन सकेका छैनन् । राजधानीमा प्रकाशित हुने पत्रिकाहरुले मोफसलका कर्मचारीलाई झूठा आरोप लगाएको अवस्थामा त्यसको उजुरी पनि पर्न नसक्ने अवस्था छ । राजधानी बाहिर नजाने पत्रिकाले मोफसलका कर्मचारीको बद्ख्वाइँ गरेको खण्डमा सम्बन्धित कर्मचारीलाई समेत थाहा नहुने स्थिती छ ।
निहीत स्वार्थका लागि पत्रकािरतालाई हतियार बनाउने समूहको पनि नेपालमा राम्रै स्थान छ । नेपालमा व्यावसायिक पत्रकारिताको अभ्यास गरेको बताउने ठूला सञ्चारगृह नै देशी विदेशी इच्छा आकांक्षा पुरा गर्ने माध्यम बनेका छन् । राजनीतिक मामलामा समेत कुनै एक पक्षलाई उचाल्न र अर्कोलाई पर्छार्न यस्ता मिडियाहरु प्रयोग भइरहेका छन् । पत्रकारिता गर्नेहरू केही सिद्धान्त, आदर्श र समाजको परिवर्तनको स्वाङ रच्दै पत्रकारितालाई मागी खाने भाँडो बनाउन लागेको पाइन्छ । समाचार वा सूचनालाई आफूअनुकूल हुने गरी प्रकाशन, प्रसारण गराएर फाइदा लुट्ने र चौथो अंग भन्दै शोषण गर्ने समूहका कारण कतिपय कलाकार तथा र्सवसाधारणले ज्यान पनि गुमाउनु परेको छ । विभिन्न चोरबाटो अपनाएर भित्रिएका विदेशी लगानीका कारण नेपाली पत्रकारहरुले पत्रकारिताको मर्यादा समेत निभाउन सकेका छैनन् । कान्तिपुर, अन्नपूर्ण पोष्ट अनि नेपाल वान लगायतमा कार्यरत पत्रकारहरुले सम्पादकीय स्वतन्त्रता अनि स्वतन्त्र पत्रकारिताको अभ्यासलाई आर्थिक दबाबमा परेर बेचिरहेका छन् जसले गर्दा शक्ति अनि सम्पत्तिको आडमा प्राप्त सूचनालाई तोडमोड गर्ने काम भइरहेको छ ।
तुलनात्मक हिसाबले दैनिक अखबारहरू, रेडियो, टेलिभिजनहरू प्रस्तुतिमा बढी होसियार रहने गरेका भएपनि कहिले काँही पत्रिकाका मुख्य पृष्ठमा हावाका भरमा समेत समाचार छापिएका छन् । समाचारलाई आर्थिक लाभको माध्यम बनाउने समूहको पकड राष्ट्रिय समाचार माध्यमहरुमा पनि कम छैन । साप्ताहिक समाचारपत्रहरूको समाचार प्रस्तुति भने झन घिनलाग्दो छ । कुनै दल विशेषको आडमा अर्को माथि खनिने परम्परा अझै पनि सुध्रिन सकेको छैन । खास गरी नेपाली पत्रकारितामा अपराध, सुरक्षा र राजनीतिक मामिलामा रिपोर्टिङ गर्नेहरूले आचारसंहिताको सही पालना गर्न नसकेको पाइन्छ धेरै ठाउँहरूमा । जनआस्था साप्ताहिकले २०५९ असोज २३ गते बुधबार 'फिल्म नगरीको रंगीन रात’ शीर्षकमा नायिका श्रीषा कार्कीको निजी जीवनलाई लक्षित गरी प्रकाशन गरेको समाचार तथा तस्विर आचारसंहिताको धज्जी उडाउने घटनाकै रुपमा लिन सकिन्छ । जसका कारण नायिका कार्कीले आत्महत्याको कदम सम्म उठाउन परेको थियो । सम्बद्ध नायिकासँग प्रतिक्रिया नै नलिई स्रोतको उद्धरणकै आडमा प्रकाशित समाचारलाई लिएर प्रेस काउन्सिलले पनि आचारसंहिताको उल्लंघन नै ठहर गरेको थियो भने आन्दोलित कलाकारहरुले यसलाई 'पीत पत्रकारिता'को संज्ञा दिएर नयाँ कानुनको माग समेत गरेका थिए । यसै घटनालाई लिएर राजाबाट त्यस्तो घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण समेत गरिएको थियो ।
प्रेस काउन्सिलको प्रतिवेदनअनुसार नेपालमा आचारसंहिता उल्लंघनका अधिकांश उजुरी गाली बेइज्जतीसँग सम्बन्धित छन् । त्यसपछि चरित्रहत्या, मानहानि र्सवाधिक उजुरीहरूमा पर्दछन् । उजुरीका आधारमा प्रेसकाउन्सिलले सम्वद्ध अखबारको ध्यानाकर्षा गराउने, खण्डन छपाउनेजस्ता कार्यहरू गर्ने प्रचलन रहेको छ । दैनिक अखवारहरूमा पनि आचारसंहिताको कुरा उठिरहन्छ नेपालमा बारम्बार । एकअर्काबीचको सम्बन्ध व्यावसायिक हुनुपर्ने भनिए पनि केही प्रतिष्ठित दैनिकहरूकै बीच चल्ने द्धन्द्धलाई आचारसंहिताको सर्न्दर्भमा उठाउन सकिन्छ । एउटै घटनालाई आफुअनुकूल हुने गरी व्याख्या गर्ने र प्रतिद्वन्द्वी अखबारको खोइरो खन्ने घटना कान्तिपुरले प्रायोजन गरेर मिडिया सोसाइटीको नाममा अन्नपूर्ण पोष्टका हजारौं प्रतिहरु क्याम्पस क्याम्पसमा जलाउन लगाएको थियो । साथै आफ्नै मिडियाबाट त्यसको भरमग्दुर प्रचार पनि गरेको थियो । त्यसभित्र अन्तरनिहीत विदेशी लगानीको भन्ने मार्क लगाएर बजारबाट पाखा लगाउने उद्देश्य आपनै ठाउँमा भए पनि त्यस्तो अभ्यास कति हदसम्म स्वीकार्य हुनसक्छ भन्ने विषयले बहसको रुप लिनु पर्ने हो । यस्तो अभ्यासले पाठकलाई दिग्भ्रमित त पार्दछ नै, साथमा पत्रकारिताको अभ्यासलाई पनि संकटमा पार्दछ । व्यावसायिकताको हिसाबले यस्ता गतिविधि घातक त छँदैछन् ।
२०६३ साल चैतको दोस्रो हप्तामा जनआस्था साप्ताहिकले नेपाली नायिका झरना बज्राचार्यले अविवाहित अवस्थामै नाङ्लो क्याफे सञ्चालक श्याम कर्माचार्यको बच्चाको आमा बनेको समाचार प्रकाशनमा ल्याएको थियो । जसको नायिका बज्राचार्यले एक टेलिभिजन च्यानलबाट आफ्नो मानहानी गरिएको र समाचार कपोलकल्पित भन्दै खण्डन गरेकी थिइन् । उनी मुलुक बाहिर भएका कारण यसको उजुरी नपरे पनि मुलुकमा नभएको अवस्थाको फाइदा पत्रिकाले लिएको देखिन्छ । फेमस नामको साप्ताहिकले २०६४ बैशाख ११ गतेको अंकमा 'नायक भूवन केसी तस्करीमा' शीर्षकको समाचारमा विना आधार र प्रमाण नायक भूवन केसी माथि रक्तचन्दन तस्करीको आरोप सहित समाचार प्रकाशमा ल्याएको छ । जुन समाचारले आफ्नो मानहानी भएको र त्यसले आफ्नो सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याएको भन्दै केसीले मानहानीको मुद्दा लिएर अदातल जाने भएका छन् । पत्रिकामा त छापिएको अवस्थामा प्रमाण पुग्छ तर रेडियो तथा टेलिभिजनका समाचार तथा अन्य सामग्रीबाट हुने आचार संहिताको उल्लंघनमा प्रमाणको अभाव हुने भएकाले उजुरी गर्न तथा कारवाही प्रक्रिया अगाडी बढाउन समस्या परिरहेको छ ।
लेखनद्धारा र्सार्वजनिक अपराध गर्नु, र्सार्वजनिक ब्यक्तिको इज्जत र गोपनीयतामा आच आउने सामग्री तथा यौन शिक्षाका नाममा सस्तो प्रचार बाजी गर्ने कार्य पनि नेपाली छापामा नौलो विषय हुन छोडेको छ । कान्तिपुर पब्लिकेसन्सको साप्ताहिकको मध्यपृष्ठ र अन्तिम पृष्ठमा र्सवाङ नाङ्गो तस्विरहरु छापिइ नै रहेका छन् त्यसको बारेमा कहिल्यै प्रेस काउन्सिल बोलेको छैन । कसैले उजुरी पनि गरेको छैन । नेपाली संस्कार र सामाजिक मुल्यमान्यताको खिलाफ हुनेगरि अश्लिल प्रकाशनको विज्ञापन समेत नेपाली साँझका अखबारहरुमा भएका छन् । आजको कमाण्डर होस् या सन्ध्याकालिन दैनिक सबैले तेस्रो पृष्ठमा 'साँहिलीको माल', 'अन्डर पेटिकोट' 'राजधानीकी मैंया' जस्ता छाडा भाषामा लेखिएका अश्लिल सामग्रीहरु प्रकाशन गरिरहेका छन् । कुनै एक दिनको सन्ध्याकालिन पत्रिकाहरु पल्टाएर हेरेको खण्डमा यसको स्थिती थाहा हुन्छ । कान्तिपुर लगायतका पत्रिकाले विज्ञापनलाई समाचारको रुपमा र विज्ञापन दिएको ब्राण्डको उत्पादनलाई जवर्जस्ती समाचार बनाउने गरेको छ । र्ससती हेर्दा नेपालमा जति आचार संहिता बनाएपनि र कारबाहीको स्वाङ रचेपनि शक्तिको आडमा पीत पत्रकारिताको सिद्धान्त अनुसरण गर्ने क्रम भने रोकिएको छैन । यसरी हेर्दा आचार संहिताको पालन भन्दा पनि उल्लंघन नै बढि भइरहेको देखिन्छ ।
आचार संहितामा कारबाहीको व्यवस्था
पत्रकार आचार संहिता कानुन नभई नैतिक अनुसासन मात्र भएपनि नेपालमा वि सं २०४८ मा प्रेस काउन्सिल ऐनले नेपाल प्रेस काउन्सिललाई आचार संहिता पालना गराउने निकायको रुपमा स्थापित गरेको छ । आचार संहिताको पालन नभएको खण्डमा स्वस्थ र स्वच्छ पत्रकारिता फस्टाउन नसक्ने भएका कारण यसको पालना जरुरी पनि रहेको छ । कुनै पत्रकार/पत्रिकाले आचार संहिताको मर्म विरुद्ध गई कार्य गरेको खण्डमा हानी पर्ने वा गालिगलौज हुने, मानहानीको विषयमा उक्त पत्रिका विरुद्ध उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । आचार संहितामा निषेध गरिएको कार्य गरी आचार संहिताको उल्लघन गरेको वा कसैको चरित्र हत्या र गोपनीयताको हकको प्रतिकुल समाचार प्रकाशन/प्रशारण भएको खण्डमा पीडित पक्षले सम्बन्धित पत्रकार तथा संचार माध्यमको विरुद्ध समाचार संम्प्रेषण भएको १५ दिन भित्र प्रेस काउन्सिल समक्ष उजुरी दिन सक्ने छ भने र्सार्वजनिक हित तथा सरोकारसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपले नकारात्मक असर पार्ने समाचार सम्प्रेषण गरेमा काउन्सिल आफैले पत्रकार वा संचार माध्यम बिरुद्ध कारबाही अघि बढाउन सक्ने व्यवस्था छ । उजुरी उपर सामान्य जाँचबुझ गर्दा पत्रकार आचार संहिता बिरुद्ध कार्य भएको प्रमाणित नभएमा आरेापित पक्षलाई सामान्यतया ७ दिन भित्र वा सो भन्दा अगावै निर्दोषिता प्रमाणित गर्न समय प्रदान गर्ने र आचार संहिता उल्लघंन भएको ठहरिएमा भने आफ्नो समाचार तत्कालै खण्डन गर्न लगाउने, क्षमा याचना गर्न लगाउने वा मुनासिव जवाफ दिन आवश्यक निर्देशन दिने छ ।
कसैलाई हानी पर्ने गरि समाचार संप्रेशण गर्ने पत्रकार वा संबाददाताको प्रेस पास जफत गर्ने, आचार संहिता उल्लंघन गर्ने संचार माध्यमलाई काउन्सिलले बर्गीकरण मूल्याकंनबाट हटाउन सक्ने, काउन्सिलको कल्याणकारी कोषबाट निश्चित अवधिका लागि सहयोग बञ्चित गर्ने, सरकारको तर्फाट उपलब्ध हुने सुबिधाहरु निलम्बन गर्न काउन्सिलले सम्बन्धित निकायलाई सिफारिश गर्न सक्ने छ ।
निष्कर्ष
नेपाली पत्रकारिताले आफ्नो यात्रा सुरु गरेको एक शताब्दी भन्दा बढि समय भइसकेको छ । यस क्रममा पत्रकारिताको अभ्यासलाई मर्यादित बनाउन सरकारी तथा गैर सरकारी तहबाट निकै धेरै प्रयासहरु भएका पाइन्छन् । राणाकालिन सनद सवाल हुन् या पञ्चायतकालिन शाही कमिशनहरु सबैले आफ्नो अनुकुलका समाचार सूचना प्रेस मार्फ प्रवाहित गर्न खोजेको देखिन्छ । त्यसो त तत्कालिन समयमा सूचना दबाउनको लागि मात्र यस्ता आचार संहिता बनाइएका होइनन् पत्रकारितालाई व्यावसायिक बनाउने र मर्यादाको घेरामा राख्न पनि तिनले सहयोग पुर्याएकै हुन् । नेपालमा प्रजातन्त्रको आगमन र पुनरागमनले पत्रकारितालाई जति स्वतन्त्रता दियो त्यसको तुलनामा निक्कै कम मात्रामा मात्र मर्यादित बनाउन सक्यो । आफ्नो स्वतन्त्रताको प्रयोग हुँदा अरुको अधिकार र स्वतन्त्रताको हनन गर्न नपाइने र्सवमान्य सिद्धान्तहरु पनि नेपाली पत्रकारिताका अगाडी हलुँगा भए । पत्रकारहरुले आपसी रिसइवीको आधारमा समेत समाचारहरु प्रकाशमा ल्याए जसको कुनै सत्यता नै थिएन । व्यक्तिगत प्रतिष्ठामा आँच पुग्ने गरि नाङ्गा तस्वीर छाप्ने काम पनि प्रजातन्त्रमै भए । त्यसका कारण ज्यानै जाँदा पनि कारवाही औपचारिकतामा मात्र सिमित रहृयो । नेपालमा पत्रकारितामा लागेकाहरु सम्बन्धित विषयमा अध्ययन, सुझबुझ नभएका भएका कारण आचार संहिता, पत्रकारिता र व्यक्तिगत एवं प्रेस स्वतन्त्रताको ज्ञान नै छैन । त्यसैले कहिले कुन दलको पक्षमा त कहिले कुन दलको पक्षमा लागेर एक अर्कोमाथि हिलो छ्याप्न पत्रकारिताको प्रयोग भएको छ । सञ्चार माध्यम स्वयंले कुनै एक दलको पक्षमा अभिमत प्रकाशमा ल्याउनु र उसको विरोधीलाई हदै सम्म गएर गालि गलौजमा उत्रने कामहरु व्यवसायिक पत्रकार भन्नेहरु बाट नै भइरहेको छ । पत्रकार भन्नेहरु नै प्रेस स्वतन्त्रताको खिलाफमा आवाज बुलंद गर्ने काममा लागिपरेको देखिनु नेपाली पत्रकारिताको लागि बिडम्बना हो ।
बिज्ञापन संचार माध्यमको प्रमुख आय स्रोत हो भन्दैमा बिज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गरेर व्यापारी फकाउने धुनमा कान्तिपुर जस्तो पत्रिका समेत लाग्नुले अन्य पत्रिकाको हालत कस्तो छ देखाउँछ । संचार माध्यमहरुले बिज्ञापन पाइन्छ भन्ने आशामा बजारमा आउने नयाँ उत्पादन र सेवा वारे समाचार प्रस्तुत गर्ने मात्र होइन सम्बन्धित व्यापारीको अन्तर्वार्ता र जीवनी समेत प्रकाशनमा ल्याउने गरेका छन् । विज्ञापन गुम्ने डरले नकारात्मक घटनाका समाचार प्रकाशन नगर्ने चलन बढ्दो छ । यस्तो अवस्थामा सरकारी सञ्चार माध्यमको भर पर्नु तितो यथार्थ बनेको छ । यति एअरको डोर्नियर जहाजको पांग्रा काठमाडौं विमानस्थलमा नै खस्दा त्यसको समाचार गोर्खापत्रले भोलि पल्ट पांग्रा खसेको भनेर र त्यसको पर्सिपल्टमात्र कान्तिपुरले एक पाँग्राले नै ल्याण्ड गर्न सक्ने जहाज भएकोले घटना सामान्य भएको समाचार प्रकाशन गर्नुले विज्ञापनको लागि पत्रिकाले कसरी समाचार र जानकारी लुकाउँछन् भन्ने र्छलङ्ग पारेको छ ।
सूचनाको हक सम्बन्धी कानून नभएकोले महत्वपूर्ण सरकारी सूचना लुकाउने प्रवृत्तिका कारण अनुमानको आधारमा समाचार प्रशारण साथै कानुनका अभाबमा काउन्सिल कमजोर हुनु पनि आचार संहिता पालनामा समस्या पारेका छन् । राजनीतिक दबाबले आचार संहिता पालना नगर्ने, आचार संहिताको चर्चा गर्ने तथा ब्यबहारमा पालना नगर्ने तथा पत्रकारहरुलाई आचार संहिता चाहिदैन भन्ने अर्को समुहका पत्रकारहरु आदिका कारणले पनि नेपाली संचार जगत्मा आचार संहिताको पालना सहि परिपालना हुन सकेको छैन । तर पनि अहिले नेपाली पत्रकारिता व्यावसायिकता तर्फउन्मुख हुँदै जाँदा क्षमतावान् अध्ययन र सुझबुझ भएका मानिसहरुको यसमा सहभागिता बढेर गएको छ । विगतमा खलाँसी, होटलमा भाँडा माज्ने, नेताको अरौटे भई पत्रकार बनेकाहरु अहिले अल्पमतमा पर्दै जाँदा पत्रकारिताले सामाजिक उत्तरदायित्व र आफ्नो विश्वसनियता आर्जन गर्न थालेको छ । आज सम्म भएका आचार संहिताको अभ्यासले पत्रकारितालाई एउटा मर्यादित पेशाको रुपमा विकास गर्न नसक्नु भने नेपाली पत्रकारिताको दुखद पक्ष मान्नु पर्दछ । नेपालमा राजनीतिको नै बोलवाला भएका कारण राजनीतिक झण्डा मुनी रहेका पत्रकार र पत्रिकाले सही पत्रकारिता गर्न सकेका छैनन् । विशेष गरेर नेपाली साप्ताहिक पत्रकारिता त पर्चाकारिता नै बनेको छ । सुधारवादी राणा प्रधानमन्त्री देव समशेरले सनदमा...कसुर भै हाकिमहरू अदली वदली भयाको कुरा पनि छापी दिनु । पहाड मदेशमा जुलुम भयाको .... । खेती पाति विषयर् इलम विषय धर्म विषय उन्नतिको असल-असल कामको कीतापको उलथा गरी छापनु । श्री ५ को सरकारको ठुलो-ठुलो उत्सवको कुरा छापनु हुन्छ सोर्गेवासी श्री ३ महाराजको तारीफ छापनु हुन्छ । वावुले कमायाको धन जुवा रंडीवाज वदनियत गरी खर्च गर्नेको दिड पनि छापी दिनु । भनेर पत्रकारितालाई जनहितकारी बनाउने प्रयास भएको भएपनि त्यसको एक शताब्दी पनि नेपाली पत्रकारिता सही आचरणमा आउन सकेको छैन । आचार संहिता नैतिक बन्धन भए पनि त्यसलाई पालना नगर्दा कारवाही नै गर्ने व्यवस्था गर्दा समेत सही आचरण बन्न सकेको छैन नेपाली पत्रकार र पत्रकारिताको । दुःखका साथ भन्नु पर्छ , नेपाली पत्रकारितामा आचार संहिताको अभ्यास केबल कागजी रुपमा मात्र भएको छ व्यवहारमा होइन ।