Thursday, October 18, 2007

दशैं आयो खाउँला पिउँला ...




दशैं आयो खाउँला पिउँला ...
कहाँ पाउँला...
चोरी ल्याउँला ...
चोर्न भन्दा धत्त पापी छुट्टै बसौंला ...




सानोमा दशैंको पिङ्गमा मच्चिँदा यस्तै गीत गाउँथ्यौं हामी । हजुरबुबाले भनेको कथालाई मुल आशय बनाएर हामीले यस्ता गीत रमाइलोको लागि गाउने गर्दथ्यौं । यस गीत सँग जोडिएको कथामा हत्केलाका पाँच औँला पात्र थिए । कान्छी औँलाले दशैं आयो भनेपछि साँहिली औँलाले खाउँला पिउँला भनेको त्यस्तै माझी औँलाले कहाँ पाउँला भनेर आफ्नो अभाव देखाएको अनि चोर औँलाले केही चोरेर सामान ल्याएर भएपनि दशैंमा रमाइलो गर्ने भनेको र त्यस्ता चोरीकार्य गरि दशैं नमनाउने भनेर बुढी औंला चाहीँ चोर औँला भन्दा छुट्टै बसेको भन्ने कथा थियो त्यो सानामा हामीले सुनेको । हजुरबुबाको कथा अनुसार हातको औँला भाँच्थ्यौं हामी । नभन्दै चोर औँला र बुढी औँला बीच भएको फरक दुरीले त्यो कथा साँच्चै जस्तो लाग्थ्यो हामीलाई ।

दशैंमा हालेको पिङ्गमा बच्चाहरु फेरी त्यही मैले सानामा गाउने गरेको गित गाएर मच्चिरहेको देख्दा मलाई बाल्यकालको मात्र नभएर त्यस गित भित्र रहेको कथाको पनि याद भएको छ । नभन्दै हाम्रो समाजमा पनि हाम्रो कथामा जस्तै पाँचै प्रकारका पात्रहरु रहेछन् । आजकल आएर अनुभव भएको छ । सानाहरु दशैंको खुसीमा रमेका छन् भने विस्तारै युवा उमेरमा पुगेकाहरुलाई दशैंमा रमाइलो गर्ने रहर छ भने तीनका बाबु आमाहरुलाई कसरी पुर्‍याउने भन्ने समस्या छ । यस्तो परिस्थितीका बीचमा हामी बीचमा विकास भएका छन् दुई प्रवृति एउटा जसरी भएपनि दशैं रमाइलो गर्ने पर्छ भन्ने । हाम्रो कथाको चोर औँलो जस्तो । रमाइलो गर्नको लागि अरुको चोरी गर्न नै किन नपरोस् उ पछि हट्दैन । र, अर्को प्रवृति छ आफ्नो क्षमता हेरेर दशैं मनाउने । हाम्रो कथाको बुढी औँलो जस्तो । आफ्नो क्षमता, आय अनि हैशियत हेरेर अरु भन्दा छुट्टै प्रकृतीले दशैं मनाउनुपर्छ भन्ने ।

अहिले हाम्रो समाजमा दशैं मनाउने तरिकामा पनि यी औँलाहरुको कथा कै पुनरावृति भएका छन् । सत्य र न्यायको असत्य अनि अन्यायमाथिको विजयको पर्व भएका कारण विजया दशमी अर्थात् दशैं मनाउन चोर औंलाको जस्तो जे सुकै गरेर भएपनि दशैं मनाउनुपर्छ भन्ने धारणा त्यागेर बुढी औँलाले जस्तै आफ्नै गच्छे अनुसार छुट्टै तरिकाले दशैं मनाउनु पर्दछ । दशैंको खाटी अर्थ पनि यसैमा छ ।

0 टिप्पणियाँ: