Wednesday, November 5, 2008

के नेपाल सतीले सरापेको देश नै हो त ?

सानो देखी मैले सुन्दै आएको छु । नेपाल सतीले सरापेको देश हो रे । सराप पनि खतरा नै रहेछ । नेपालमा राम्रो गर्नेको कहिल्यै भलो नहोस् । त्यसरी सरापेको समय देखी सतीको सरापका कारण नेपालमा राम्रो गर्न खोज्नेको कहिल्यै भलो भएको छैन रे ।

रुख पनि सिधा भयो भने पहिले काटिन्छ रे अनि मान्छे असल भयो भने छिटो मासिन्छ रे ! सुनेको हो सानामा । नेपालमा पनि भएको छ त्यही नै । राजा वीरेन्द्रको सारा वंश नै उनी असल भएका कारण खतम भयो । मदन भण्डारीलाई सडक दुर्घटनामा पारियो । वीपीलाई पनि बाँकी राखिएन । नेपालको शिर उच्च राख्न भारतसँग नझुकेकै कारण महेन्द्रले आत्महत्या गर्नुपर्‍यो ।

भिमसेन थापा, अमरसिंह थापाले देशको लागि भलो सोच्दा आत्महत्या गर्नुपर्‍यो । यस्ता सयौं उदाहरण छन् इतिहासमा । जसले भलो गर्‍यो कि मर्‍यो ।



पृथ्वीनारायण शाह श्री ५ बडामहाराजाधिराज, जसले आफ्नो सम्पूर्ण युवाकाल रणमैदानमा बिताएर सुन्दर, शान्त अनि विशाल नेपाल सृजना गर्‍यो उनैका सालिक चोकमा तोडिएको अवस्थामा छ । आज नेपाललाई भारतीय शासकका सामु झुकाउन तल्लिन चाकरहरुको सम्मान भइरहेको छ । तथानाम राष्ट्रिय स्रोत साधन भारतीय शासन समक्ष बुझाउने अनि राष्ट्रघाती सन्धी गर्नेहरु, नदी सँगै राष्ट्रिय स्वाभिमान बेच्नेहरु ठूला भएका छन् । सम्मानित भएका छन् ।

राजतन्त्र अनि गणतन्त्रको नाममा नेपालको इतिहास मेट्ने अनि नेपाली पहिचान खतम गर्ने खेल सुरु भएको छ । सत्ता टिकाउन भारतीय आशिर्बादका लागि राष्ट्रघात गरिएको छ । ऐतिहासिक व्यत्तित्वका नाम अनि शालिक भञ्जन गर्नेहरु बढेका छन् ।
तर इतिहासमा काला काम गर्नेहरुको राज चलेको छ । नरसंहार मच्चाएरै राणाहरुले १०४ वर्षशासन गरे । त्यस्तै नरसंहार चलाएर अहिले माओवादी पनि सरकारमा आसिन भएका छन् ।

आज माओवादीको त्यही सरकारले राजाका नाममा भएको भन्दै विभिन्न तीन नगरपालिकाको नाम परिवर्तन गरेको छ । जसअनुसार
गोरखाको पृथ्वीनारायण नगरपालिका - गोरखा नगरपालिका हुनेछ, दाङको त्रिभुवन नगरपालिका - घोराही नगरपालिकामहेन्द्रनगर नगरपालिका - भीमदत्त नगरपालिका
हुनेछ ।

आफ्नो सिद्धान्त विपरितका व्यक्तिका सबै अवशेष र इतिहास मेटाउन खोज्ने माओवादीको नियतका साथ इतिहासमा राज गरेका नेपाली राजाका नाममा राखिएका सबै स्थानका नाम परिर्वतन गर्ने काम भएका छन् । विगतमा भावावेशमा आएर नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मुल धार सम्हालेको भन्ने पार्टी पनि यस्तै अतिवादी निर्णय गरेको थियो । यो सरासर अतिवादी निर्णय हो माओवादी सरकारको । आफूलाई साथ अनि मत नदिनेको ज्यानै लिनेहरुले नाम फेर्नु ठूलो र अचम्म लाग्दो कुरा चाहीँ होइन । तर यसले नेपालमा बढिरहेको अतिवादी सोचलाई देखाउँछ । मुलधारका दल नै अतिवादमा लागे भने यही रुपमा अगाडी बढे भने नेपाल अफगानिस्तान बन्न बेर लाग्दैन । अतिवाद नै त्यो गोरेटो हो जुन आतंकवादमा गएर टुंगिन्छ ।

के नेपाल साँच्चिकै सतीले सरापेको मुलुक हो ? के यहाँ राम्रो सोच्ने अनि गर्नेको कहिल्यै भलो हुँदैन ? अनि मृत्युपछि पनि हुँदैन त ?

2 टिप्पणियाँ:

AMOL said...

नेपाल सती ले सरापेको देश होइन भारतको आँखा लागेको देश हो। मदन भण्डारी, बि।पी कोइराला, महेन्द्र र बिरेन्द्रको सारा परिवार सतीको होइन भारतको आँखा लागेर मारिएक हुन। भगवानले कशैलाई सराप दिदैन्न, अनी सात्रुले कशैको भलो चाहदैन।

rajankathet said...

ब्वाँसोको बथानमा अरुलाई मार्नुहुन्न भन्ने ज्ञानी कम छन् नेपालमा ।। उत्तिसको जंगलमा गुराँसको रुख ढाल्न के गार्हो छर तर गुराँसै गुराँस भएको जंगल फडानी गर्न गार्हो छ।। नेपाल मा पनि गुराँसको जंगल बनाएर हेरौँ अनी थाहा हुन्छ।। १००० मा एउटा असल निक्लिन्छ त्यो सजिलै मेटिदिहाल्छ भारत ले ।।

If you want to hear the experts talking about Nepal-India treaties and policies than visit http://rajankathet.blogspot.com/search/label/Kosish%20Nepal