Monday, July 9, 2007

हास्यविधामा आदिकवि

नेपाली भाषाको अभ्युदय विक्रमको एघारौं शताब्दीमा भएको भएपनि आधुनिक शिष्ट साहित्य परम्परा भानुभक्त आचार्यबाट भएको हो । त्यसैले उनलाई आदिकविको सम्मान दिइएको छ । विशेष गरेर भगवान श्रीरामलाई आलम्बन बिन्दु बनाएर साहित्यका विविध फाँटमा उनले कलम चलाएकेा पाइन्छ । उनका रामायण, भक्तमाला, वधुशिक्षा लगायतका कृति प्रसिद्ध रहेका छन् । नेपाली भाषाका एकीकरणकर्ता आचार्य हास्यव्यङ्ग्यका विधामा पनि उक्तिकै सशक्त पाइन्छन् । रातमा वास नदिने गजाधर सोतीकी घरबुढि हुन् या अड्डा अदालतका भोली भन्ने प्रवृत्ति अनि तत्कालिन जेल व्यवस्थापन कोही उनको व्यङ्ग्यको प्रहारबाट बच्न सकेको देखिँदैन ।

भानु नेपाली हास्यव्यङग्यको प्राथमिक चरणमा फुटकर हास्य कविताबाट हास्यव्यङ्ग्यका क्षेत्रमा उदाएका हुन् । उनी भन्दा अगाडी सामाजिक व्यङग्य र हास्यको प्रचलन थिएन नेपाली भाषामा । संस्कृतका नाटककार एवं विदूषकहरुमात्र सिमीत रुपमा काव्यका श्रव्य-दृष्य विधामा हास्यको प्रयोग गर्दथे । छिटफुट रुपमा शक्तिबल्लभका कवितामा व्यङ्ग्यात्मकता पाइएको भएपनि सचेतताका साथ हास्यव्यङग्यको प्रयोग नेपाली साहित्यमा उनी भन्दा अगाडी भएकेा थिएन । आदिकविले आफूले भोगेका पीडा र रमाइला क्षणहरुलाई सारगर्भित रुपमा व्यङ्ग्य गर्दै हास्यको उत्पन्न गराएका छन, कवितामा ।

बिन्ती डिट्ठा बिचारी सित म कति गरुँ चुप् रहन्छन् न बोली ।
बोल्छन्ता ख्याल् गर्‍या झैं अनि पछि दिन दिन् भन्दछन् भोली भोली ।।
की ता सक्तीन भन्नू कि तब छिनि दिनू क्यान भन्दछन् इ भोली ।
भोली भोली हुँदामा सब घर बिति गो बक्सियोस् आज झोली ।।

गिरिधारी भाट सँग परेको जग्गाको किचलोको कारण मुद्दा मामिलामा फसेका आचायलाई अदालतका कर्मचारीको भोलि भन्ने बानिले दिनु सम्म त दुःख दिएन । त्यसरी दुःख दिने भोलिवादी प्रवृत्तिका विरुद्ध उनले कविता बाटै प्रहार गरे व्यङ्ग्यात्मक रुपमा । अड्डा अदालतका डिट्ठा विचारीको भोलीवादी प्रवृतिले भानुभक्तलाई दिएको पीडाजन्य सुस्केरालाई कवितात्मक रुपमा उतारिएको भएपनि यसमा सम्पूर्ण समाजको नै व्यथा र असन्तोषको भाव देख्न सकिन्छ । कानुनी उपचार र्सवसाधारणको पहुँच बाहिर बनाउनमा विशेष भूमिका खेल्ने भोलीभन्ने प्रवृति आज पनि जिवित नै रहेकोले उनको यो व्यङ्ग्य कविता आज पनि उत्तिकै जनप्रिय बनेको छ ।

लाम्खुट्टे उपिञा उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी
लामखुट्टेहरु गाउँछन् ए उपिञा नाच्छन् म हेर्छु बसी ।

वि.सं. १९०९ मा बाबुले गरेको काममा बाँकी बक्यौता लाग्नाले भानुभक्तलाई जेलमा राखियो र नजरबन्द समयमा लामखुट्टे, उपियाँ र उडुसहरुको तमाशालाई नृत्य र संगीतको रुपमा वर्णन गरेर उनले त्यसलाई कविताको रुप दिए । कारागारको अवस्थाको चित्रणमा हास्य र व्यङ्ग्यको पुट पाइनु, लक्षणावृत्तिको माध्यमबाट तत्कालिन कारागार व्यवस्थाको खिल्ली उडाउनु नै उनको वैशिष्ठ्य बन्न पुग्यो ।
उनको वधुशिक्षाले समेटेको विषय र गजाधर सोतीकी घरबुढीलाई लक्षित गरि लेखिएको व्यङ्ग्यलाई लिएर केही नारीवादी भनाउँदाहरुले उनको विरोध पनि गर्ने गरेका छन् । त्यस्तै गजाधर सोतीकी घरबुढीको पक्षबाट भानुभक्तलाई जवाफ लेखिएका पनि छन् ।

गजाधर सोतीकी घरबुढि अलच्छिन्कि रहिछिन् ।
नरक् जान्लाई सबसित बिदावादि भइछन् ।।
पुग्यौं साँझ्मा तिन्को घर पिडीमहाँ बास गरियो ।
निकालिन् साँझैमा अलिक पर गुलजार गरियो ।।

गजाधर सोतीको घरमा एक साँझ बास गर्न पुगेका भानुलाई गजाधरकी घरबुढीले साँझैमा बास नदिइ निकालेको र रुखमुनि रात काट्नु परेको कुरालाई लयोवद्ध गरेर उनले साँझमा बास माग्न आउनेको समस्यालाई नबुझने गृहिणीहरु प्रति छेड हानेका छन् । यस कविताले गजाधरकी घरबुढीको अपमान गरेको भन्ने गरिए पनि उनलाई वर्गीय पात्रको रुपमा उभ्याइएको र दुष्ट प्रवृत्तिका गृहिणीको उछितो काढ्नमा कविता केन्द्रित रहेको मान्नु पर्दछ । अतिथिः देवो भवः भन्ने हाम्रो समाजमा साँझका पाहुनालाई देवता मान्ने गरिन्छ र जस्तै अवस्थामा पनि बासको प्रबन्ध गरिन्छ । त्यसो नगरेको खण्डमा पाप लाग्छ भन्ने संस्कारगत मान्यता भएको समय र स्थानमा बासको आश गरिनु र साँझमा समस्यामा परेर बास माग्न आउँदा नदिने प्रवृति माथि व्यङ्ग्य गरिनु गलत होइन । यसलाई कुनै एक लिङ्ग प्रतिको आक्रोश भन्न मिल्दैन र उनलाई रुढीवादी भन्न पनि मिल्दैन ।

सचेत व्यङ्ग्यको प्रयोग गर्नमा पारंगत भानुभक्तका कविता दुम्सीका काँढा जस्ता तिखा देखिन्छन् । र, तत्कालिन समाजको वेथितीलाई च्वास्स च्वास्स घोच्न र प्रहार गर्न सफल छन् । उनका व्यङ्ग्य राणाशासक प्रति विरोधाभाष र विडम्बनापूर्ण ढङ्गले आफ्नो स्थितीबोध दरिलो व्यङ्ग्य कसेर भोलिवादी प्रवृत्तिको उछितो काढेका छन् । आफू नजरबन्दमा परेको ठाउँको पनि उनले व्यङ्ग्यात्मक ढंगले चित्रण गरेका छन् । बास बसको ठाउँबाट निकाल्ने गृहिणी माथि आक्रामक बनेर आक्षेप लगाउन पुगेका छन् । तर कुनै पनि आग्रह पूर्वाग्रह उनका भावनामा, रचनामा छ भनेर भन्न सकिँदैन । सामाजिक, पारिवारिक, राजनैतिक एवं आर्थिक बेथिति, विसंगती एवं विकृति माथि हास्यात्मक पाराले व्यङ्ग्य हान्नु उनको मुल प्रवृतिको रुप बन्न पुगेको मान्नुपर्दछ । सरल भाषा शैली र भाव विधानमा अभिधार्थ भन्दा लक्ष्यार्थ र व्यञ्जनावृतिद्वारा भावलाई सशक्त मनोहारी रुपमा प्रस्तुत गर्नु उनको विशिष्ठता हो । प्राथमिक कालिन रचनामा आजको जस्तो व्याकरण र शाब्दिक चयन खोज्नु अत्युक्ति नै हुन जान्छ । तत्कालिन परिवेशमा प्रहार गरिएका उनका व्यङ्ग्यात्मक कविताले उनलाई सशक्त व्यङ्ग्यकविका रुपमा स्थापित गरेको मान्नु पर्दछ ।

0 टिप्पणियाँ: